नेकपा रामेछापमा एकताको चटारोः स्थानीय कमिटीमा पनि पुरानैलाई जिम्मेवारी



२० जेठ, रामेछाप ।
पार्टी एकीकरण भएको एक बर्षपछि जिल्ला कमिटीले पूर्णता पाएसँगै रामेछापको आठ स्थानीय कमिटीको एकताको प्रक्रिया पनि अगाडि बढेको छ । नेकपा तीन नम्बर प्रदेश कमिटीले असारभित्र स्थायीय कमिटीको अध्यक्ष, सचिवको टुंगो लगाउने परिपत्र जारी गरेसँगै स्थानीय कमिटीलाई पूर्णता दिने काम अगाडि बढेको हो ।
नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलले ६ वटा गाउँपालिकाका र दुई नगरपालिकाका अध्यक्ष र सचिवको नाम टुंगो लगाउन जिल्लाका केन्द्रीय नेताहरुसँग परामर्श अगाडि बढाएका छन् ।
नेकपा रामेछापका सचिव शान्ति पौडेलले विगतमा तत्कालिन दुई पार्टीबाट अध्यक्षको जिम्मेवारी लिएकाहरुलाई नै पूर्व दुई पार्टीबीच भएको सहमति अनुसार अध्यक्ष र सचिव चयन गर्ने रामेछाप न्युजलाई बताए । उनका अनुसार अपवाद बाहेक सबै ठाउँमा पुरानै नेतृत्वले निरन्तरता पाउने छन् ।
पार्टीले तय गरेको मापदण्ड अनुसार रामेछापको ६४ वटा वडा कमिटी २९ सदस्यीय बन्नेछ । त्यसैरी ६ वटा गाउँपालिकाको कमिटीमा ७५ सदस्यीय र दुई वटा नगरपालिकाको कमिटीमा ८१ जना सदस्यीय कमिटी सचिव पौडेलले बताए ।

सुरुमा स्थानीय पार्टी कमिटीलाई पूर्णता दिएपछि मात्र इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी दिने सचिव पौडेलले जानकारी दिए । उनका अनुसार आगामी जिल्ला कमिटीले जिल्लाको पदाधिकारी र सचिवालयमा रहनेहरुको नाम टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्