रामेछापका गौतमलाई पक्राउ गर्न क्यानेडियन प्रहरीलाई पत्राचार



२४ जेठ, काठमाडौं ।
नेपाली नागरिकलाई अमेरिकाको सपना देखाएर मानव तस्करी र ठगी गरेको आरोपमा फरार रहेका सुदर्शन गौतमलाई पक्राउ गर्न नेपाल प्रहरीले क्यानेडियन प्रहरीको सहयोग मागेको छ । साविक रामेछाप गुन्सी गाविस हाल सुनापती गाउँपालिका–१ गुन्सीको गौतमले नेपाली नागरिकता त्यागेर गौतम क्यानडामा बस्दै आएका छन् ।

उनलाई पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरीले क्यानेडियन प्रहरीसँग सहयोग मागेको प्रहरीका प्रवक्ता विश्व पोखरेले बताए । गौतमविरुद्ध अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले गत महिना रेड नोटिस जारी गरिसकेको छ । १० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका गौतम रेड नोटिस जारी भएकाले जुनसुकै देशमा पक्राउ पर्न सक्छन । उनी क्यानेडियन नागरिक भइसकेकाले नेपाल ल्याउन भने कठिन हुन सक्ने बताइएको छ ।

नेपालमा उनीविरुद्ध मुद्दा दायर भइसकेको छ । चलचित्रमा अभिनय गरेका गौतमले कलाकार बनाएर नेपालीहरूलाई अवैध बाटोबाट अमेरिका लैजाने गरेका थिए । त्यसमध्ये कतिपयको बाटोमै मृत्यु भएको थियो भने कतिपय महिनौँपछि अलपत्र परेर फर्किएका थिए । गौतमले दुवै हात नभए पनि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्