तल्लो लिखु जलविद्युत आयोजनाको काम तिब्र गतिमा (फोटोफिचर)



२६ जेठ, रामेछाप ।
रामेछाप र ओखलढुंगा जिल्लाको सीमाना लिखु खोलामा निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनाको काम तीब्र गतिमा अगाडि बढेको छ । २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना समयमा नै सम्पन्न गर्नको लागि व्यवस्थापन पक्षले काम तीब्र बनाएको हो ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडलका कार्यकारी निर्देशक डा.सुर्वणदास श्रेष्ठले हालसम्म करिब २५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘काम तीब्र गतिमा अगाडि बढेको छ, लक्ष्य अनुसार नै काम गर्दै आएका छौं ।’ गत मंसिरबाट काम सुरु भएको आयोजना पाँच किलोमिटर सुरुङ अन्तर्गत डेढ किलोमिटर खन्ने काम सम्पन्न भएको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा लक्ष्मी बैंकसहित कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले कुल ५ अर्ब ६० करोड रुपैयाँमा निर्माण गर्न लागेको छ ।
रामेछाप र ओखलढुंगा जिल्लाको सीमानामा रहेको लिखु खोलामा निर्माण गर्न लागिएको तल्लोलिखु जलविद्युत आयोजनाको हालसम्म २५ प्रतिशत काम सम्पन्न भएको छ ।

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीत गत २०७३ पौष १४ गते विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भएको थियो । २८.१ मेगावाट जडित क्षमता रहेको आयोजना आगामी २०७८ मंसिरमा विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ ।

आयोजनाका सह–प्रबन्धक वसन्त पौडेलले लक्ष्य अनुसारकै काम अगाडि बढेको बताए । तल्लोलिखु जलविद्युत आयोजनाको लागि २५ प्रतिशत रकम भने कम्पनीका संस्थापक तथा सर्वसाधारण शेयरधनीले लगानी गर्ने छन् ।

उक्त आयोजनामा आयोजना प्रभावित स्थानीय वासिन्दाले दस प्रतिशत शेयर लगानी गर्न पाउने छन् । सह–प्रबन्धक पौडेलका अनुसार स्थानीय दस प्रतिशतको साथैसर्वसाधारणले प्राप्त गर्ने वीस प्रतिशत शेयरमा पनि लगानी गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्