‘नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन अरु मूलुकका लागि अनुकरणीय’



२७ जेठ, काठमाडौं ।
गृहमन्त्री रामबहादुर थापाले भूकम्पपछि नेपालको पुनर्निर्माण र विपद् व्यवस्थापन विश्वका विभिन्न मुलुकका लागि अनुकरणीय हुन सक्ने बताएका छन् । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलनमा गृहमन्त्री थापाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वर्तमान नेतृत्वमा भएको पुनर्निर्माण नेपालीका लागि मात्र नभएर विदेशीहरुलाई पनि अनुकरणीय हुन सक्ने बताएका हुन् ।

“जुन ढंगले विपद्को व्यवस्थापन र पुनर्निर्माण गरेका छौं, त्यो नमूना बन्न सक्छ र अरु मुलुकलाई अनुकरणीय हुन सक्छ” उहाँले भन्नुभयो । गृहमन्त्री थापाले विपद् व्यवस्थापन स्थानीय तहहरुको मात्र नभई विश्वव्यापी मुद्दा भएकाले सबै मिलेर चुनौतीको सामना गर्नु पर्ने धारणा व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चार लाख भन्दा बढी निजी आवासको पुनर्निर्माण सम्पन्न भएको र २ लाख २८ हजार घर पुनर्निर्माणका क्रममा रहेको जानकारी दिँदै अझ राम्रो र बलियो भन्ने आवधारणा अनुसार नेपालमा पुनर्निर्माण अघि बढिरहेको बताए ।

भुकम्पपीडित जनताको अपनत्व र स्वामित्वमा निजी आवास पुनर्निर्माण भइरहेको भन्दै उनले बैंकिङ प्रणालीबाट अनुदान उपलब्ध गराइएकोले आर्थिक पारदर्शिता कायम भएको बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्पछिको पुनर्निर्माणमा धेरै खर्च हुने भएकाले स्थानीय तहसँगको सहकार्यमा विपद्को न्यूनीकरणमा विशेष ध्यान दिन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सम्पदा, सुरक्षा निकायका भवन लगायतलाई प्राथमिकताका आधारमा पुनर्निर्माण गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्