खिम्ती–बाम्ती सडक पाँच बर्षभित्र कालोपत्रे हुन्छः सांसद श्रेष्ठ



विष्णु खड्का

२९ जेठ, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले विकासबाट पछाडि परेको क्षेत्रको लागि भौतिक पूर्वाधार निर्माणको काममा आफू लागि परेको बताएका छन् । उनले आगामी पाँच बर्षको अवधिमा रामेछापको खिम्ती देखि रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड गाउँपालिकाको बाम्तीसम्मको सड्कलाई कालोपत्रे गरेरै छाड्ने दावी गरेका हुन् ।

रामेछापको उत्तरी क्षेत्रलाई कर्णालीको नाम दिँदै यस क्षेत्र धार्मिक, पर्यटन र प्राकृतिक हिसाबले धनी भएकाले पनि आर्थिक रुपमा धेरै सम्भावना रहेको बताउदै उनले समग्र जिल्लाको विकास निर्माणमा आफूले सक्दो सहयोग गरेको बताए ।


रामेछापको उमाकुण्ड गाउँपालिका–२ लुँबुमा नबनिर्मित सिद्धेश्वर मावि भवनको उदघाटन गर्दै सांसद श्रेष्ठले विकास निर्माणमो स्थानीय प्रदेश र संघीय सरकारले सहकार्य गरेर जानु पर्नेमा जोड दिए ।
२०७२ सालको भुकम्पले क्षति पुगेको माविको एडिबीको आर्थिक सहयोगमा निर्माण गरिएको छ । ५ करोड ७७ लाख ८१ हजार ४ सय ३० कुल लागतमा उक्त भवन निर्माण भएको हो । जसमा तीन वटा भवन र एउटा शौचालय रहेको छ ।

पठनपाठनको लागि १२ वटा कक्षा कोठा सहित ल्याप, र छात्राहरुको लागि सेनेटरी प्याड फेर्ने कोठा सहित सौचालय निर्माण भएको विद्यालय निर्माणको जिम्मेवारी पाएका प्रदिप वस्नेतले जानकारी दिए । विद्यालय भवन निर्माणको लागि उमाकुण्ड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले निकै सक्रिय भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्