प्रदेश ३ को चालु खर्च २४ अर्ब र पुँजीगत खर्च २२ अर्ब, यी हुन लोकप्रिय नारा



१ असार, हेटौडा ।
प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ । कुल नियोजित बजेटमध्ये चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार र पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार विनियोजन गरेको छ ।


प्रदेश ३ का प्रदेश अर्थमन्त्री कैलाश ढुंगेलले वित्तीय व्यवस्थापनतर्फ ३० करोड अर्थात् ०.६३ प्रतिशत रकम विनियोजन गरेको प्रदेशसभालाई बजेटको जानकारी गराएका छन् । उनले बजेटको स्रोतका लागि प्रदेश ३ सरकारले १५ अर्ब ४९ करोड ४९ लाख राजस्व उठाउने अनुमान गरेको बताए ।

त्यसैगरी अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख प्राप्त हुने अनुमान गरिएको छ भने अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड उठ्ने अनुमान गरिएको छ । राजस्व वचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार प्राप्त हुने प्रदेश ३ सरकारको अनुमान रहेको छ । प्रदेश सरकारले घोषणा गरेको बजेटमा लोकप्रिय नाराहरु समेटिएका छन् । प्रदेश सरकारले लोकप्रिय नारा अगाडि सादै बजेट विनियोजन गरेको छ ।

निरक्षरतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन, प्रदेश ३ को ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा, प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार, प्रदेश र स्थानीय तहको एउटै सन्देश, वालविवाहमुक्त हाम्रो प्रदेश, राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, एक स्थानीय तह, एक विशेष उत्पादन, वातावरण संरक्षणमा हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा, पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार, एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम, एक घर, एक धाराको नीति अगाडि साारेको छ ।

त्यसैगरी प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान, वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार, प्रदेश सरकारको भावना, जिम्मेवार नागरिकको कामना, एक नेपाली एक फलफूल विरुवा रोपण, एक समूह, एक वन उद्यम कार्यक्रम लगायतको नारा पनि अगाडि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्