सन्तुलित विकासका लागि पूर्वाधार विकास कार्यक्रम ल्याएका हौंः मन्त्री ढुंगेल



८ असार, हेटौडा ।
प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेले प्रदेश तीनको सन्तुलित विकासका लागि सरकारले पूर्वाधार विकास कार्यक्रम ल्याएको बताएका छन् । उनले यसमा प्रत्यक्ष र समानुपातिक सांसदहरु एवम् स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा योजना छनौट हुने गरी कार्यविधि बनाएर यो कार्यक्रम लागू गरिने बताएका हुन् ।

आर्थिक वर्ष ०७६ । ७७ का लागि प्रस्तुत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिँदै मन्त्री ढुंगेलले प्रदेशका सांसदहरुलाई सोझै बजेट दिने गरी कार्यक्रम नआएको दावी गरे ।
बजेट कार्यान्वयन चुस्त, व्यवस्थित र पारदर्शी बनाउन अनुगमन संयन्त्र तयार गरिने बताउदै मन्त्री ढुंगेले समयतालिका बनाएर सम्बन्धित निकायबाट कार्यक्रमको अनुगमन गरिने बताए । आगामी आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि बलियो अनुगमन संयन्त्र र कार्यतालिका बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री ढुंगेले राजश्व संकलन अपेक्षित रुपमा हुने भन्दै संशोधित राजश्व संकलन हुने र आगामी आर्थिक वर्षमा राजश्व संकलन अनुमान गरे जति संकलन हुने बताए ।
निजी तथा सहकारी संस्थाहरुलाई साथमा लिएर नै प्रदेश सरकार अघि बढ्ने भन्दै उनले निजी, सार्वजनिक, सहकारीसँगको सहकार्य गर्ने कार्य्विधि नै बनाएर कार्यान्वयन हुने दावी गरे ।

स्थानीय तहमा थप अनुदान, प्रकोप व्यवस्थापन, प्रदेशका विशेष कार्यक्रमहरुमा यो शीर्षकको बजेट खर्च हुन्छ, उनले भने, अर्थ–विविध शीर्षकमा ८ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा नै अनुदान बढी आएकोले पूँजीगत खर्च कम भएको आर्थिक मामिला मन्त्री ढुंगेलले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्