खाँडादेवी गाउँपालिकाको बजेट ६१ करोड ११ लाख



९ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि ६१ करोड ११ लाखको बजेट ल्याउने भएको छ । भोली हुने गाउँसभामा उक्त बजेट प्रस्तुत हुनेछ । रामेछापको ६ वटा गाउँपालिका मध्ये खाँडादेवी गाउँपालिका सबै भन्दा बढी बजेट ल्याउने पालिका अन्तर्गत रहेको छ ।
यस आर्थिक बर्षमा ५२ करोड बजेट रहेको गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि गत बर्ष भन्दा १० करोड बढीको बजेट ल्याउन लागेको हो । गाउँपालिकालाई समृद्ध बनाउने गरी बजेट ल्याउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँपालिकाले प्राथमिकता निर्धारण गरेर योजना छनोट गरेर मात्र बजेट दिने कार्यविधि बनाएको बनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत विष्णु प्रसाद सुवेदीले गाउँपालिकाले लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको बताए । पचास लाख राजश्व संकलन हुने लक्ष्य राखिएको चालु आर्थिक बर्षमा मात्र एघार महिनाको अवधिमा १ करोड ७५ लाख राजश्व संकलन भइसकेको रामेछाप न्युजलाई बताए । उनका अनुसार आगामी आर्थिक बर्षमा ३ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन हुने लक्ष्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्