पुष्पलाल पार्कदेखि कोलोञ्जोरघाटसम्मको सडक रामेछाप नगरपालिकाको गौरवको योजना



राजन महतारा क्षेत्री

१० असार, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६।०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकोे छ । मंगलवार रामेछाप नगरपालिकाकोसामुदायिक भवनमा भएको कार्यक्रममा नगरले आर्थिक वर्ष २०७६।०७७ को लागि ६४ करोड २६ लाख ७३ हजारको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
नगरसभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले यस बर्ष सुनकोशी र लिखु नदी किनारको सिँचाइ योग्य ठाउँमा लिफ्ट सिँचाइको लागि बजेट विनियोजन गर्ने भएको छ ।

प्रत्येक वडामा माटो परीक्षणका लागि मोवाइल माटो परीक्षण प्रयोगशालाको व्यवस्था गरि मौसमी तथा वेमौसमी तरकारी वालीका लागि किटनाशक औषधीमा ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने भएको छ ।

सहकारीको क्षेत्रमा उत्कृष्ट काम गर्ने सहकारीलाई रामेछाप नगरपालिका वर्ष सहकारी पुरस्कारको व्यवस्था गर्ने आज उपप्रमुख सिर्जना खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । लक्षित वर्गको लागि विनियोजन भएको बजेटको अनिवार्य खर्च गर्नुपर्ने नीति लिएको छ ।

नगरभित्रको कार्यालयहरुमा विघुतीय हाजिरीको व्यवस्था गर्ने,बजार अनुगमनलाई तीव्रता दिने,नगर प्रहरी भर्ना गरि यातयात व्यवस्थापन गर्ने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
पूर्वाधार विकास तर्फ पुष्पलाल पार्कदेखि कोलोञ्जोरघाटसम्मको सडकलाई नगरको गौरवको योजनाको रुपमा निरन्तरता दिने भएको छ । रामेछाप बजारमा व्यवस्थित हाट बजार र बसपार्र्कको निर्माण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । वातावरणतर्फ धुवाँ रहित सुधारिएको चुल्हो प्रवद्र्धन गरि महिलाको स्वास्थ्यमा सुधार ल्याउने भएको छ ।

यसैगरी नीति तथा कार्यक्रममा अगुवा कृषकहरुलाई कृषि औजारमा ६० प्रतिशत अनुदान दिने , १ घर १ पशु विमा कार्यक्रम सञ्चालन गर्ने, मातृशिशु स्वास्थ्य प्रवद्र्धनका लागि स्थापना भएका बर्थिङ सेन्टरहरुमा आवश्यक सामग्री व्यवस्थापन गर्ने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका गर्दै रोजगारीका लागि होमस्टे खोल्न प्रोत्साहन गरिने लगायतका कार्यक्रमहरुलाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्