दोरम्बा गाउँपालिकाको नाम फेरेर ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय



११ असार, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाको नाम फेरिएको छ । दोरम्बा गाउँपालिकाको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गर्दै ‘दोरम्बा सैलुङ’ राख्ने निर्णय गरेको हो ।

ऐतिहासिक स्थल दोरम्बाबाट गाउँपालिकाको नाम दोरम्बा नामाकरण गरिएको थियो । तर दोरम्बा गाउँपालिकाले पर्यटन क्षेत्रलाई पनि समावेश गर्ने मुख्य उदेश्य सहित गाउँपालिकाको स्थापना भएको तीन बर्षपछि नाम परिवर्तन गरेको छ ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले गाउँसभाबाट गाउँपालिकाको नाम दोरम्बा सैलुङ राखिएको रामेछाप न्युजलाई बताए । उनका अनुसार गाउँसभाबाट पारित भएको नाम संघीय मामिला मन्त्रालयमा पठाइनेछ ।

गाउँपालिकाले गरेको नाम सरकारले अनुमोदन गरेपछि मात्र वैधानिकता पाउने छन् । यस अघि रामेछापको लिखु गाउँपालिकाले पनि नाम परिवर्तन गर्दै लिखु तामाकोसी गाउँपालिका राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्