रामेछापवासीमा ११ बर्षपछि छाएको खुसी



सुनिता तामाङ

२४ असार, रामेछाप । सडक सञ्जालले जोडिएको लामो समयपछि रामेछाप जिल्लाको तीन गाउँपालिकालाई जोडने पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन बर्षमा सम्पन्न हुनुपर्ने रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएर आशिकं रुपमा सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दामा खुसी छाएको छ । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण कम्पनीको ढिलासुस्तीको कारण तीन बर्षमा सम्पन्न हुनुपर्ने पुल ११ महिनापछि सम्पन्न भएको छ । करिब ९ करोड रुपैयाँमा खम्पाचे÷लामा÷कन्काई जेभीले उक्त पुल निर्माण गरेको हो ।

निर्माण कार्यमा ढिला भएको स्वीकार गर्दै कन्काई निर्माण सेवाका सञ्चालक राम मैनालीले गत बर्षदेखि तीब्र गतिमा काम भएकै कारण यस बर्षबाट पुल सञ्चालनमा आएको रामेछाप न्युजलाई बताए । उनका अनुसार यही असार १५ गतेदेखि आशिक रुपमा मोटरसाइकल सञ्चालनमा आएको छ । पुलको दायाँबायाँ केही निर्माणको काम केही दिनभित्र नै सम्पन्न गरेर पुल सरकारलाई हस्तान्तरण गर्ने मैनालीले बताए ।

पुल निर्माणको लागि रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, पूर्व सभासद डिल्लीमान तामाङ, सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, कांग्रेस रामेछापका पूर्व सभापति रामचन्द्र खड्का, नेकपा रामेछापका नेता अम्बर लामा, स्वर्गीय भरत भण्डारीले चासो राख्ने समयमा नै पुल निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । पूर्व सभापति डिल्लीमानको कार्यकालमा पुलको डिजाइन भएर ठेक्की प्रक्रिया अगाडि बढेको थियो ।


सुनकोसी नदीमा निर्माण भएको पुल सिन्धुलीतर्फ विपी राजमार्ग र रामेछापतर्फ मध्य पहाडी लोकमार्गसँग जोडिएको छ । स्थानीय राज मैनालीले पुल आशिक रुपमा सञ्चालन आएको बताए । हाल रामेछापतर्फ सञ्चालन हुने सवारी साधनले यात्रुहरुलाई पुलको मुखसम्म लैजाने र राजधानी काठमाडौं लगायतको क्षेत्रबाट सिन्धुलीको दुम्जा महादेवस्थानसम्म लैजाने गरेका छन् । पुलबाट यात्रुहरुले आवतजावत गरेर सवारी साधन परिवर्तन गरेर गन्तव्यतर्फ जाने गरेका छन् । पुल निर्माणसँगै एक घण्टा भन्दा बढी समय घुम्नु पर्ने बाँध्यता हटेको छ ।


खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले पुल निर्माण भएर पूर्ण रुपमा सञ्चालनमा आउने अवस्थामा पुगेको रामेछाप न्युजलाई बताए । उनले बर्षाको समय सित्खाको पुल घुम्नु पर्ने र रोशी खोला तर्नुपर्ने बाँध्यता हटेको बताए । पुल समयमा नै निर्माण नहुँदा रामेछापवासीले जोखिम मोलेरै बर्षाको समयमा रोशी खोलाबाट ओहोरदोहोर गर्नुपर्ने बाँध्यता थियो ।

पक्की पुल सञ्चालनमा आउने भएसँगै रामेछाप जिल्लामा उत्पादित कृषिजन्य वस्तु राजधानी काठमाडौंसम्म लैजान सहज हुनुको साथै अब हिउद बर्षा नै यातायात सञ्चालन हुने भएपछि रामेछापवासी खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्