खुर्कोटमा ढुंंगाले बाटो छेक्यो, मन्थली–खुर्कोट सडक खुल्न सकेन



२९ असार, रामेछाप ।
अविरल बर्षाकोसँग आएको पहिरोको कारण मन्थली–खुर्कोट सडक अवरुद्ध भएको छ । दुई दिनदेखि सडक खुलाउनको लागि अहोरात्र काम भएपनि रामेछाप प्रवेश गर्ने मुख्य नाका खुर्कोटको पुलमा ठूलो ढुंगा खसेकाले सडक खुल्न सकेको छैन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीले पुलको मुखमा ठूलो ढुंगा आएर बसेको कारण सडक खुलाउने प्रयास सफल हुन नसकेको बताइन ।

उनले रामेछाप न्युजसँग भनिन,‘ठूलो दुई वटा मेसिन ल्याएर ढुंगो फुटाउने काम जारी छ, पानी पर्ने क्रम पनि चलिरहेको छ, जसको कारण अवरोध हटाउन गाह्रो भएको छ ।’ मन्थली खुर्कोट सडक खण्डमा अन्यत्रको पहिरो पन्छाउने काम भएपनि पुलको मुखमा निकै ठूलो ढुंगा खसेकाले पन्छाउन काममा कठिनाई देखिएको छ ।

प्रजिअ केसीका अनुसार खुर्कोटको पुल भने अहिलेसम्म खतरामुक्त रहेको छ । सडक सञ्चालन गर्नको लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय मन्थली नगरपालिका, स्थानीयवासी लागे पनि ढुंगा खुर्कोटको ढुंगा पन्छाउन नसक्दा मन्थलीबाट काठमाडौं आवातजावत गर्ने समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्