रामेछापको साँघुटारमा डिजेलको कारण आगलागी, करोडौको क्षति



९ साउन, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–३ साँघुटारमा लागेको आगोको कारण चार वटा घर जलेर नष्ट भएको छ । गोदाममा रहेको डिजल र पेट्रोलमा अचानक आगो लाग्दा चार वटा घर जलेर नष्ट भएको हो । आज बिहान बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले क्षतिको विवरण संकलन भइरहेको रामेछाप न्युजलाई बताए । उनका अनुसार प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे सहितको टोली अहिले साँघुटारमा राहत लिएर गएको छ । तर देउरालीमा खसेको पहिरोको कारण अहिले पहिलो पन्छाउने काम भइरहेको छ ।


उनका अनुसार लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । त्यसैगरी, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर पनि आगलागीमा परि जलेको छ ।

विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो । तर नेपाल विद्युत प्राधिकरणका प्रमुख विनोद अधिकारीले विद्युत सट नभएको दावी गरे । उनले रामेछाप न्युजसँग भने,‘हाइ भोल्टेजको कारण विद्युत सट भएको देखिदैन ।’
स्थानीयका अनुसार आगलागीबाट करोडौको क्षति भएको अनुमान गरिएको छ । यसको आधिकारिक तथ्याङक प्रहरीले संकलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्