रामेछापमा धमाधम बाख्रा मर्न थालेपछि किसान चिन्तित



१० साउन, रामेछाप ।
रामेछाप नगरपालिका–२ मा पिपिआर रोगका कारण सय भन्दा बढी बाख्रा मरेपछि किसानहरु चिन्तित भएका छन् । एक्कसी गाउँमा बाख्राहरु मर्न थालेपछि किसान चिन्तित भएका हुन् । १५ दिनको अबधिमा देउरालीमा सय भन्दा बढी बाख्रा मरेको रामेछाप नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख विजय श्रेष्ठले बताए । उनका अनुसार भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोग एउटा संक्रमित रोग हो । यो रोग एउटा गाउँको एउटा बाख्रामा देखिने वित्तिकै नियन्त्रण नभएसम्म अरु बाख्राहरुमा पनि देखिने र माहामारीको रुपमा फैलने गर्छ ।

पिपिआर रोग लाग्दा बाख्राहरु छेर्ने, नाकबाट सिँगान निकाल्ने, आँखामा कचेरा आउने, जिव्रो तथा मुखमा घाउ हुने जस्ता लक्षणहरु देखापरेपछि अन्तिममा बाख्राले घाँसै खान छाडे्ने र बाख्रा मर्ने गरेको श्रेष्ठले बताए ।
रामेछाप नगरपालिकाले रोग प्रभावित क्षेत्रमा प्रविधिहरुको टोली परिचानल गरी निःशुल्क औषधि सहित पिपिआर सुई लगाउने काम जारी राखेको छ । रामेछाप नगरपालिकाले बाख्रामा रोगको सङ्क्रमण हुने बित्तिकै पशु स्वास्थ्य चिकित्सकसँग परामर्श लिन नगरपालिका किसानहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्