खैरेनीघाटको पुलबाट गाडी गुडयो, प्रचण्डले उदघाटन गर्ने



स्नेहा सिलवाल

१३ साउन, रामेछाप । रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित सुनकोसी नदीको पुल निर्माण सम्पन्न भएर यातायात सञ्चालनमा आएको छ । पुल निर्माण सुरु भएको ११ बर्षपछि रामेछाप–सिन्धुली जोडने पुल निर्माण सम्पन्न भएको हो । केही महिना अघि निर्माण सम्पन्न भएको पुलबाट हाल यातायात सञ्चालन भइरहेको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठले रामेछाप न्युजलाई बताए ।

निर्माणको जिम्मेवारी पाएको लामा÷खम्पाचे÷कन्काई जेभीले लिएको थियो । निर्माणको जिम्मेवारी पाएको कन्काई निर्माण सेवाको ढिलासुस्ती, पुलको डिजाइन परिवर्तन, भुकम्प, नाकाबन्दी लगायतको कारणले पुल निर्माणमा ढिलाई भएको थियो । करिब नौ करोड लागतमा निर्माण सम्पन्न भएको पुलको उदघाटन आगामी साउन १९ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्ने कार्यक्रम तय भएको रामेछाप न्युजलाई बताए ।


पुल सञ्चालनमा आएपछि रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राजधानी काठमडौं र सदरमुकाम मन्थली आउन जान सहज हुने भएको छ । पुल सञ्चालनमा आएपछि रामेछापवासीमा ११ बर्षपछि खुसी छाएको छ । पुल सञ्चालनमा आएसँगै तीन गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य वस्तु राजधानी काठमाडौं लगायतको बजारमा पुर्याउन सहज भएको छ ।

रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले निकै ठूलो दबाब दिएर पुल निर्माण सम्पन्न गर्नको लागि भूमिका खेलेको बताए । स्थानीय सरकार गठन भएपछि सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुले समयमा नै पुल निर्माण गर्नको लागि दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्