खाँडादेवी गाउँपालिकाको भीरपानीमा सिलिन्डर बम विस्फोट, कार्यालय ध्वस्त
१८ साउन, रामेछाप ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भीरपानीको वडा कार्यालयमा अज्ञात समुहले बम विस्फोट गराएको छ । आज बिहान करिब दुई बजेको समयमा सिलिन्टर बम विस्फोट हुँदा कार्यालयमा क्षति पुगेको छ भने कार्यालयभित्र रहेको कागजपत्र जलेर नष्ट भएको छ ।
भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्कीकाले बम विस्फोटको कारण कार्यालयमा ठूलो क्षति भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार चार वटा कोठा रहेको कार्यालयको एउटा कोठा पूर्ण रुपमा क्षति भएको छ भने अन्य कोठामा पनि क्षति पुगेको छ ।
सिलिन्डर बम चार वटा कोठालाई क्षति पुग्ने गरी विस्फोट गराइएको पाइएको बताउदै उनले जताततै सिलिन्डर टुक्रा रहेको जानकारी दिए । घटनाको बारेमा अहिले प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापले पनि अज्ञात समुहको खोजी कार्य अगाडि बढाइएको बताएको छ । जिल्ला प्राविधिक कार्यालयले करिब आठ बर्ष अघि सभा हल सहित चार कोठे पक्की भवन निर्माण गरेको थियो । सोही भवन नै हाल वडा कार्यालय रहेको थियो ।