रामेछापको नाका नाकामा सिसी क्यामेरा जडान गरिदै



२७ साउन, रामेछाप ।
रामेछाप जिल्ला जोडने मुख्य नाकाहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ । जिल्लाभित्र अपराधिक घटना न्युनिकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछापले सिसी क्यामेरा जडान गर्न लागेको हो । यस अघि उद्योग वाणिज्य संघ रामेछापको नेतृत्वमा, मन्थली नगरपालिकाको सहयोगमा सदरमुकाम मन्थली बजारमा सिसी क्यामेरा जडान भएको थियो ।

जडान भएको ३२ वटा क्यामेरा मध्ये हाल २८ वटा सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले रामेछाप न्युजलाई बताए । उनले भने,‘जिल्लाको सबै नाकाहरुमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिसी क्यामेरा जडान गर्ने कार्यक्रम अगाडि बढाउदै छौं ।’

जिल्लासँग सीमाना जोडिएका मुख्य नाकाको रुपमा रहेका सेलेघाट, लुभुघाट, सित्खा, साँघुटार, खिम्ती, गुन्सी भदौरे लगायतको स्थानमा सिसी क्यामेरा जडान गरिन लागिएको हो ।

एक साता अघि मात्र खाँडादेवी गाउँपालिका–३ भीरपानीमा अज्ञात समुहले सिलिन्डर बम विस्फोट गरेर वडा कार्यालय ध्वस्त बनाएको थियो । सम्भावित अपराधिक घटना घटन नदिने र यदी घटना घटेको अवस्थामा अपराधी पहिचान गर्न सहज बनाउने उदेश्यले सिसी क्यामेरा जडान कार्य तत्काल अगाडि बढाइएने प्रमुख भट्टाराईले बताए । उनका अनुसार सिसी क्यामेरा जडान गर्नको लागि स्थानीय तहसँग समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्