कांग्रेसको आरोपः रामेछापका जनप्रतिनिधिहरु भ्रष्टचारमा लिप्त



३० साउन, रामेछाप ।
नेपाली कांग्रेस रामेछापले रामेछाप जिल्लाका जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएको छ । जनप्रतिनिधिहरुको बीचमा विकासमा प्रतिस्पर्धा हुनुपर्नेमा भ्रष्टाचारमा प्रतिस्पर्धा देखिएको आरोप लगाएको हो । रामेछाप जिल्लाको आठ वटै स्थानीय तहमा गत निर्वाचनमा गाउँपालिकाको उम्मेदवारी दिएका नेताहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दैै जिल्लाभर संचालित सबै खालका शिर्षक तथा विकास निर्माणका कार्यमा पारदर्शिता नदेखिएको तथा कतिपय ठाउँमा जनप्रतिनिधिहरुबीच नै नै लेनदेनको बिषयमा कुरा नमिलेर झगडा भएका समाचारहरु छताछुल्ल बताएको छ ।

लिखु तामाकोसी गाउँपालिकाको आर्थिक लेनदेनको बिषयलाई लिएर काठमाडौंमा भएको गोलीकाण्डप्रति खेद व्यक्त गर्दै विज्ञप्तीमा घटनाप्रति स्थानीय सरकार संवेदनशील नदेखिएकोले समाजमा बिद्यमान शान्ति अमनचयन माथी प्रश्न उठेको बताएको छ ।

कृषि, सडक, संचार, स्वास्थ्य र विधुतिकरणमा विनियोजित बजेटहरु ब्यापक दुरुपयोग भइ हिनामिना भएको , स्थानीय सरकार वालवालिका तथा जेष्ठनागरिक मैत्री नदेखिनुका साथै कतिपय पालिका कार्यालयलाई आफन्त भर्ती केन्द बनाएकाले स्थानीय सरकार प्रमुखहरुको नैतिक चरित्र माथी नै कांग्रेसले गम्भीर प्रश्न उठाएको छ ।

जनप्रतिनिधिहरु स्वयंम् बजेट छुट्याउने अनि आफैं स्काभेटर, डोजर र ट्रीपरका मालिक भएर “आफैं धामी आफैं बिरामी“ भने जस्तो नाटक गरि आतंक सृजना गरेको आरोप लगाउदै विज्ञप्तीमा भनिएको छ, जनप्रतिनिधिहरुलेले गरेको अनियमितिको अध्ययन अनुसन्धान गरि सम्बन्धित निकायले कारवाही गरोस ।

विज्ञप्ती जारी गर्नेहरुमा सुनापती गाउँपालिकाकामा गत निर्वाचनमा उम्मेदवार बनेका जितेन्द्र कुमार मोक्तान, मन्थली नगरपालिकाका उम्मेदवार विनोद कार्की, लिखु तामाकोसी गाउँपालिकाका उम्मेदवार चन्द्र बहादुर राउत, उमाकुण्ड गाउँपालिकाका उम्मेदवार हिक्मत सुनुवार, खाँडादेवी गाउँपालिकाका उम्मेदवार वेदराज लामा, दोरम्बा गाउँपालिकाका उम्मेदवार मान बहादुर लामा, गोकुलगंगा गाउँपालिकाका उम्मेदवार नानिबाबु बस्नेत रहेका छन् । रामेछापको आठ वटा स्थानीय तह मध्ये रामेछाप नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले जितेको थियो भने ६४ वटा वडा रहेको रामेछापमा कांग्रेसले १३ वटा वडामा निर्वाचित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्