नेकपा रामेछापको ८ स्थानीय तह र ६४ वटा कमिटीको एकता टुंगो लाग्दै



३१ साउन, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापले पार्टी एकीकरण भएको पन्ध्र महिनापछि स्थानीय कमिटीलाई पूर्णता दिन लागेको छ । रामेछाप कमिटी रामेछापले तत्कालिन गाउँ कमिटी र वडा कमिटीका नेताहरुलाई नै जिम्मेवारी दिने गरी नामावली टुंगो लगाउन लागेको हो ।

पूर्व एमाले र पूर्व माओवादीबीच स्थानीय तह, वडा कमिटीमा भागवण्डा भइसकेको छ । भागवण्डा अनुसार पूर्व माओवादीले सुनापती, दोरम्बा गाउँपालिका र रामेछाप नगरपालिकाको नेतृत्व लिनेछ भने पूर्व एमालेले मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिकाको नेतृत्व लिनेछ । पूर्व माओवादीले अध्यक्ष लिने कमिटीमा पूर्व एमालेले सचिव लिनेछ ।
कार्यालयले अझै पूर्णता पाउन सकेन

नेकपा रामेछाप १ सय ३५ सदस्यीय जिल्ला कमिटी रहेको छ । यस अघि १ सय ३३ जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली प्रदेश कमिटीमा बुझाए पनि अझै दुई सदस्य थप गर्न बाँकी छ । जिल्ला अध्यक्ष मैन कुमार मोक्तानले पछि थप्ने गरी दुई सदस्य थप्न बाँकी राखेका थिए । त्यसैगरी नेकपा रामेछापको सात जनाको कार्यालय टिम बनाउने सहमति भएको छ । कार्यालयमा पूर्व एमालेका चार पूर्व माओवादीका तीन जना रहनेछन् ।

पूर्व एमालेको तर्फबाट कार्यालयमा प्रेम बहादुर तामाङ, आन्नद श्रेष्ठ र झम्क कडेल रहने सहमति भइसकेको छ भने पूर्व माओवादीभित्रको आन्तरिक विवादको कारण कार्यालयले पूर्णता पाउन सकेको छैन् ।
नेकपा रामेछापका सचिव शान्ति पौडेलले तीन दिनभित्र नै आठ वटा स्थानीय कमिटी र ६४ वटा कमिटीलाई पूर्णता दिने रामेछाप न्युजलाई बताए । उनका अनुसार सबै कमिटीमा साविकको नेतृत्वलाई नेतृत्व दिने गरी नामावली तयार भइसकेको छ । केही कमिटीमा रहने नेतृत्वको नामावली टुंगो लगाएर तीन दिनभित्र कमिटीहरुलाई पूर्णता दिने सचिव पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्