कुलमानको गृह जिल्ला रामेछापमा अब अध्याँरो नहुने



२ भदौ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको गृह जिल्ला रामेछापमा पूर्ण रुपमा विद्युतीकरण हुने अन्तिम चरणमा पुगेको छ । घिसिङको पहलमा विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रमा हाल धमाधम विद्युतीकरणको काम भइरहेको छ ।

आगामी एक बर्षभित्र रामेछापको ८ स्थानीय तह र ६४ वटामा विद्युतीकरण गर्नको लागि बजेट विनियोजन भएर काम भइरहेको कार्यकारी निर्देशक घिसिङले रामेछाप न्युजलाई बताए । उनले भने,‘रामेछाप जिल्लामा मात्र होइन, अब देशको सबै कुना काप्चामा विजुली बल्छ ।’

प्राधिकरणले रामेछापको विद्युतीकरण हुन बाँकी रहेको क्षेत्रमा विद्युतीकरण गर्नको लागि गत बर्ष २७ करोडको टेन्टर गरेर हाल काम गरिरहेको छ । प्राधिकरणले एक बर्षको अवधिमा रामेछाप जिल्लालाई पूर्ण रुपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखेको विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले रामेछाप न्युजलाई बताए ।

उनका अनुसार रामेछाप जिल्लामा हाल विद्युत प्राधिकरणको ग्राहको संख्या २६ हजार पुगेको छ । यो संख्या सामुदायिक विद्युतीकरण बाहेकको हो । यस बर्षमात्र ६ हजार विद्युत प्राधिकरणको ग्राहक थप्न सफल भएको प्राधिकरणले काठको पोल विस्थापित गरेर स्ट्रीलको पोल राख्न सफल भएको छ ।

प्रमुख अधिकारीले रामेछाप न्युजसँग भने,‘एक बर्षको अवधिमा रामेछापमा ५२ वटा नयाँ ट्रान्फर्मर जडान गरिएको छ, २१ वटा ट्रान्फर्मर अपडेट गरेका छौं ।’ हाल रामेछापमा विद्युत प्राधिकरण र वल्ड बैंकको सहयोगमा विद्युतीकरणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्