रामेछापको डब्खामा ट्रान्सफर्मर चोरी हुँदा १३ सय घरपरिवार खानेपानीबाट बञ्चित



३ भदौ, रामेछाप ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डब्खामा लिफ्ट खानेपानी आयोजनाको लागि राखिएको ट्रान्सफर्मर चोरी भएको छ । ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी हुँदा खाँडादेवी गाउँपालिकाका करिब १३ सय घरपरिवार खानेपानीबाट बञ्चित भएका छन् । केही समय अघि मात्र सम्पन्न भएको लिफ्ट खानेपानीको लािग छुट्टै ट्रान्सफर्मर राखिएको थियो ।

भिरपानीस्थित डब्खाको सुनकोसी नदी किनारामा इन्टेक बनाएर भिरपानीको लागि लिफ्ट मार्फत पानी तानिदै आएको थियो । खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार घटनाको बारेमा जिल्ला प्रहरी कार्यालाई जानकारी गराइएको छ ।

जिल्लाकै प्रमुख खानेपानी आयोजना मध्ये एक रहेको डब्खा–भिरपानी लिफ्ट खानेपानी आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अब खानेपानीबाट बञ्चित हुने भएका छन् । अध्यक्ष कार्कीले भने,‘करिब १३ सय भन्दा बढी घरघुरी अब पिउने पानीबाट बञ्चित भएका छन्, छिट्टै लिफ्ट खानेपानी सञ्चालन गर्नको लागि ट्रान्सफर्मरको व्यवस्थापनमा लाग्छौं ।’

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले घटनाको बारेमा आफूहरुलाई जानकारी भए लगत्तै प्रहरी परिचालन गरेर खोजी भइरहेको बताए । उनले रामेछाप न्युजसँग भने,‘विगतमा चोरी गर्नेहरुबाट ट्रान्सफर्मरको तार चोरी भएको पाइएको छ, दोषीको खोजी भइरहेको छ ।’ रामेछाप जिल्लामा ट्रान्सफर्मरबाट तार चोरी भएको यो पहिलो घटना हो ।


भिरपानीमा केही समय अघि मात्र अज्ञात समुहले सिलिन्डर बम विस्फोट गराउदा वडा कार्यालयको भवन ध्वस्त भएको थियो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नागरिकहरुले दैनिक रुपमा पिउने पानीको मुहान नै बन्द गर्ने गरी ट्रान्सफर्मर चोरी गर्नेमाथि कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । उनले नागरिकहरुको ध्यानलाई केन्द्रमा राखेर नयाँ ट्रान्सफर्मरको व्यवस्थापन गर्न लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्