दोरम्बा प्राथमिक स्वास्थ्य चौकीबाटै अब डाक्टर सहितको सेवाः यी हुन सुविधा



३ भदौ, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाभित्र पहिलो पटक डाक्टर सहितको सेवा सेवा सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर २ दोरम्बामा रहेको प्राथमिक स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरउन्नती गर्ने नीति अनुरुप सेवा सुरु भएको हो । स्वास्थ्य सेवा विभागले स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर पठाएसँगै दोरम्बा गाउँपालिकावासी खुसीयाली छाएको छ ।

दोरम्बा गाउँपालिकाले गत बर्ष नै दोरम्बामा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्दै अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार वेट राख्नको लागि प्रि–फ्याकको भवन समेत निर्माण गरेको छ । ल्याब, ऐक्सरे मेसिन लगायतको सामाग्री खरिद गर्नको लागि तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

तत्कालिन स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन गर्ने गरी दोरम्बाको प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो । सोही भवनलाई नै अस्पतालको रुपमा स्तरउन्नती गरिने भएको छ ।
दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्क बहादुर श्रेष्ठले डाक्टर सहितको सेवा सञ्चालन ल्याउन गरेको प्रयास सफल भएको बताए । उनले रामेछाप न्युजसँग भने,‘गाउँपालिकाले खेलेको भूमिकाकै कारण छोटो अवधिमा नै डाक्टर सहितको सेवा सुरु भएको छ ।’ उनका अनुसार गाउँपालिकाको बजेटबाट निर्माण भएको प्रि फ्याक भवनमा वेट राखेर सेवा सञ्चालन गरिनेछ ।


दोरम्बामा अस्पताल सञ्चालन गर्नको लागि दोरम्बा गाउँपालिकाले २७ रोपनी जग्गा समेत आफ्नो नाममा ल्याइसकेको छ । हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको नीति अनुसार दोरम्बा गाउँपालिकामा हाल डाक्टर सहितको सेवा सुरु भएको छ ।

प्राथमिक स्वास्थ्य चौकी दोरम्बामा हालै जिम्मेवारी लिएर आएका डाक्टर सन्तोष श्रेष्ठले सामान्य उपचारको लागि राजधानी काठमाडौं जानु नपर्ने बताए । उनले हाल स्वास्थ्य चौकीमै ल्याब, भिडियो एक्सेर, एक्सरे लगायतको मेसिन उपलब्ध भएको बताए ।

स्वास्थ्य चौकीबाट दिसाब, पिसाब, रगतको परीक्षण हुनेछ भने सुत्केरी समेत उपलब्ध हुनेछ । त्यसैगरी हातखुँट्टा भाचिएका बिरामीहरुको पनि प्लास्टर अब दोरम्बा स्वास्थ्य चौकीबाट उपलब्ध हुनेछ भएको छ ।

प्रतिक्रिया दिनुहोस्