रामेछापकाे भंगेरीमा लाखे माँरिदै



६ भदौ, रामेछाप ।
भंगेरीका नेवार समुदायले जनैपुर्णिमाको दिनदेखि परम्परागत रूपमा मनाउँदै आएको यस वर्षको लाखेनाच कृष्ण जन्मअष्टमीका दिन अर्थात आज अन्त्य हुँदैछ । कृष्णले राक्षसरुपी लाखेलाई मारेपछि यस वर्षको लाखे नाच विधिवत रुपमा सम्पन्न गर्ने प्रचलन रहेको छ ।

जनैपुर्णिमाको दिनदेखि सुरु भएको लाखे नाचका क्रममा नेवारी भेषभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाईजात्रा र समाजका विभिन्न विकृतिमाथि व्यंग्य प्रहार गर्ने गरिन्छ । लाखे नाचका बेला कंशको प्रतिकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र उसका सिपाइका प्रतिकका रूपमा विभिन्न काला, सेता र अन्य रंगका मुखुण्डो लगाएका ढटुवारे निकालिन्छ ।

भंगेरीमा जात्रा हेर्न सयौँ सर्वसाधारण आउने गरेका छन  । रामेछाप बजार, धारापानी , मार्नेँडाँडा, झगरेचौर, पालेवन लगायतका ठाउँहरुमा कृष्ण जन्मअष्टमीका दिन लाखे नाच देखाइसकेपछि बेलुका राति १२ बजे कृष्णद्धारा लाखे बद्य गर्ने कार्यक्रम रहेको भंगेरी श्रेष्ठ समाजका अध्यक्ष नरेश बाबु श्रेष्ठले जानकारी दिए ।

नेवार समुदायमा प्रचलित लाखे नाच निकै लोकप्रिय मानिन्छ । पछिल्लो समय स्थानीयको बेवास्ताले यो नाच लोप हुन थालेको छ । भंगरीमा हरेक वर्ष लाखे नाच देखाउन युवायुवतीसँगै बुढापाका पनि सहभागी हुने गरेका छन  । भंगेरीका नेवार समुदायका महिला तथा पुरुषहरु लाखे नाचमा विभिन्न भुमिका देखिने गर्छन । लाखे नाचमा ढोल, झ्याम्टा बजाएर संस्कृति प्रदर्शन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्