रामेछाप नगरपालिकाको अभियानः सबै छात्रालाई निःशुल्क स्यानीटरी प्याड



राजन महतारा क्षेत्री

१२ भदौ, रामेछाप । रामेछापको आठ वटा स्थानीय तह मध्य रामेछाप नगरपालिकाले नयाँ कामको थालनी गरेको छ । टोलटोलमा घुम्ती स्वास्थ्य शिविर मार्फत नागरिकहरुलाई सेवा प्रवाह गरेको नगरपालिकाले नयाँ योजना अगाडि सारेको छ ।
रामेछाप नगरपालिकाले नगरपालिकामै घरेलु स्यानीटरी प्याड उत्पादन गरी नगर भित्रका माध्यमिक विद्यालयमा पुगेर छात्राहरुलाई निःशुल्क प्याड वितरणको अभियान अगाडि बढाएको छ । ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापको सहजीकरणमा रामेछाप नगरपालिकाले नगरपालिका भित्रका ९ वटै वडाका महिलाहरुलाई घरेलु स्यानीटरी प्याड बनाउने तालिम दिएको थियो ।


तालिममा सहभागी महिलाहरुले बनाएको स्यानीटरी प्याड नगरभित्रका १३ वटा माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई वितरण गरिने ग्रामिण विजनेश प्रमोशन प्रालि रामेछापका अध्यक्ष गुन्जबहादुर कार्कीले बताए ।
घरेलु रुपमै उत्पादन भएको स्यानीटरी प्याड एक पटक प्रयोग गरिसकेपछि पुनः सफा गरेर धेरै पटक प्रयोग गर्न सकिने खालको रहेको रामेछाप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामशरण पौडेलले बताए ।


महिनावारी भएको समयमा विद्यालयमा हुने छात्राहरुको अनुपस्थितिलाई घटाउन यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउछिन । पैसाको अभावमा स्यानीटरी प्याड प्रयोग गर्नबाट नगरका कोही पनि महिलाहरु बन्चित नहोउन भन्ने उद्धेश्यका साथ नगरले घरेलु स्यानीटरी प्याड उत्पादन र वितरणलाई जोड दिएको उनले बताइन ।
स्यानीटरी प्याड रामेछाप नगरपालिका–१ गोठगाउँको चण्डेश्वरी मावि र वडा नम्बर ३ साँघुटारको हिमगंगा उमाविका छात्राहरुलाई वितरण गरिसकिएको छ । अब बाँकी वडामा रहेको मावि विद्यालयमा क्रमश वितरण गर्देै जाने उपप्रमुख खड्काले जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्