सालको पात टपरी हुने हे बरै नहुने सल्लैको….



१६ भदौ, रामेछाप ।
सालको पात टपरी हुने हे बरै नहुने सल्लैको । लोक गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको यो गीतले सबैको मन छोएको छ । युटुबमा मात्र यो गीत ४८ करोड मानिसहरुले हेरेका छन् । सबैको जनजिब्रोमा झुण्डिएको गीत हो यो । सालको पात भन्ने वित्तिकै टपरी दुना भन्ने बुझिन्छ ।
समाजमा लामो समयदेखि चल्दै आएको परम्परागत सीपहरु लोप हुने अवस्था बढदै जान थालेको छ । आधुनिकताको नाममा समाजमा परम्पराहरु विस्तारै लोभ हुने अवस्थामा पुगेका छन् । तर रामेछापको मन्थलीस्थित केब्स बोडिङ स्कुलले भने परम्परागत सीपहरु संरक्षण गर्ने उदेश्यले विद्यार्थीहरुलाई विद्यालयमै सीप सिकाउने कार्यक्रम सुरु गरेको छ ।

बढदो प्रविधिको प्रयोगसँगै विद्यार्थीहरु मोबाईल, टिभी र पब्जीमा बढी रमाउने क्रम बढदै गएपछि स्कुलले परम्परागत सीपको जानकारी गराउने र अभ्यास गराउने कार्यक्रम सुरु गरिएको हो । रामेछापको मन्थली नगरपालिका–१, आकासेस्थित केब्स बोर्डिङ स्कूलले आफ्ना विद्यार्थीहरुलाई नेपाली परम्परागत सीपहरु सिकाएको छ । स्कूलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब डेढ सय विद्यार्थीहरुलाई नेपाली मौलिक परम्परामा आधारित दुना टपरी गाँस्ने, डोरी बाट्ने, बाती कात्ने र बाँसको चोया बनाउने सीपहरु सिकाइएको हो ।


विद्यालयका प्रअ केशव तिमल्सिनाले पछिल्लो समय गुणस्तरीय शिक्षाको नाममा विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र घोकाएर परीक्षामा धेरै अंक दिलाउन मात्र स्कुलहरु केन्द्रित भैरहेको अवस्थामा आफ्नो विद्यालयले फरक अभ्यास सुरु गरेको बताए । अब स्कुलहरुले गुणस्तरीय शिक्षालाई अंक केन्द्रित भएर संकुचित रुपमा परिभाषित गर्न नहुने बताउदै उनले विद्यार्थीहरुलाई विविधतायुक्त जीवनोपयोगी प्रयोगात्मक शिक्षा दिनु पर्नेमा जोड दिए ।


विद्यार्थीको सीप विकास मात्र नभई नयाँ पुस्तालाई नेपाली मौलिक परम्परासँग सम्बन्धित सीप र प्रविधिको महत्वको बारेमा सचेत गराउने उदेश्यको साथ कार्यक्रम आयोजना गरिएको विद्यालयले बताएको छ ।
तालिम कार्यक्रमका क्रममा समाजले लैङ्गिक रुपमा छुट्याएका काम पनि लैङ्गिक समानताका दृष्टिले छात्रछात्रा दुबैलाई सिकाइएको थियो । यस क्रममा छात्रहरुले दुना टपरी गाँसेका थिए भने छात्राहरुले समेत डोरी बाट्ने र चोया काढ्ने काम गरेका थिए । विविधतायुक्त प्रयोगात्मक शिक्षालाई विद्यालयले उच्च प्राथमिकतामा राखेको र तालिकाबद्ध रुपमा यस्ता किसिमका अन्य सीपहरुलाई पनि निरन्तर सिकाउने अरितिक्त कृयाकलाप प्रमुख सुवास तामाङले बताए ।


गत महिना माटो व्यवस्थापन र नर्सरी व्यवस्थापन तथा लघु करेसा निर्माण सम्बन्धि तालिम कार्यक्रम आयोजना गरिएको थियो भने यस पछि केब्स सिङ्गिङ तथा डान्सिङ आइकन सिजन–२ आयोजना हुने विद्यालयले जनाएको छ । स्थापना कालदेखि नै केब्स स्कूल उच्च गुणस्तरीय संस्कारयुक्त शिक्षा प्रदान गर्नुका साथसाथै अतिरिक्त कृयाकलाप र खेलकुद गतिविधिमा समेत अब्बल स्कूलको रुपमा स्थापित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्