दोरम्बाको ढोईगाउँमा बन्यो ७१ लाखमा पक्की विद्यालय भवन



२४ भदौ, रामेछाप ।
दोरम्बा गाउँपालिका–२ दोरम्बास्थित ढोईगाउँमा रहेको जनजागृति आधारभूत विद्यालयमा विद्यालयको नयाँ भवन निर्माण भएको छ । २०७२ साल बैशाख १२ गतेको भुकम्पको कारण क्षति भएको विद्यालयको नयाँ भवन निर्माण भएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण, जिल्ला कार्यन्वयन इकाईले ७१ लाखमा चार कोठे पक्की विद्यालय भवन निर्माण गरेको छ ।

विद्यालय भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठनपाठन गर्न सहज भएको दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खडक बहादुर श्रेष्ठले रामेछाप न्युजलाई बताए । एक समारोहकाबीच विद्यालय भवनको उदघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा विद्यालयका संस्थापक अध्यक्ष स्व. धनलाल थापामगर, संस्थापक सदस्यहरु क्रमश, स्व. भिमबहादुर थापामगर, स्व. डम्बर बहादुर थापामगर र जिवित सदस्य मानबहादुर थापामगर तथा उहाँ परिवारलाई दोसल्ला तथा कदर पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व शिक्षकहरु किरणराज कँडेल, हेमबहादुर थापामगर र विणा कुमारी थापामगरलाई प्रशंसा पत्र सहित विदाई गर्नुको साथै विद्यालयका २ जना शिक्षिकाहरु डिलु कुमारी थापामगर र विष्णुमाया योन्जनलाई उत्कृष्ट शिक्षक सम्मान गरिएको थियो ।

विद्यालयले नयाँ ४ कोठे भवन निर्माण समितिका अध्यक्ष विकास थापामगर, सचिव पुष्पलाल थापामगर र कोषाध्यक्ष तुलसा पण्डित (थापा) लाई समेत प्रशंसा पत्र सहित सम्मान गरिएको छ । २०३८ साल भाद्र १६ गते स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा ८ सम्म पठनपाठन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्