खैरेनीघाट–राकाथुम–गाल्वा सडक कालोपत्रे गर्न थप पहल गर्छुः सांसद श्रेष्ठ
२८ भदौ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लाभित्र विकास निर्माणको कामले गति लिएको बताए । उनले स्थानीय सरकार प्रदेश सरकार संघीय सरकारको समन्वयमा विकास निर्माणको कामले गति लिएको बताएका हुन् । सडक, खानेपानी, विद्युतीकरण र पूर्वाधार निर्माणको काम अपेक्षा गरे अनुसार नै अगाडि बढेको बताउदै उनले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्ने अभियानमा लागि परेको बताए ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माविले राकाथुमले बाल दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामेछापका सह–इन्चार्ज समेत रहेका सांसद श्रेष्ठले खैरेनीघाट–राकाथुम गाल्वा सडक कालोपत्रेको काममा थप पहल गर्ने बताए ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा उक्त सडक यस बर्षबाट कालोपत्रेको लागि अगाडि बढेको छ । सांसद श्रेष्ठले भने,‘खैरनी राकाथुम गाल्वा सडक प्रदेश सरकारले अगाडि बढाएको छ, यस सडकलाई चाडो भन्दा चाडो कालोपत्रे गर्नको लागि संघीय सरकारबाट पनि थप बजेट पार्न पहल गर्छु ।’ उनले कोथवेको झोलुंगे पुलको डिपिआर तयार भइसकेकाले बजेट पार्नको पार्ने काममा आफूले विशेष पहल गर्ने बताए ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज देवशकंर पौडेल, पूर्व सभासद डिल्लीमान तामाङ केन्द्रीय सदस्य माधव ढुंगेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा लगायतको सहभागीता रहेको थियो ।