प्रजिअ पाण्डेको ‘एक्सन’ बढी भाडा लिए ठाउँको ठाउँ कारवाही



३० भदौ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले दशैको बेला सञ्चालन हुने यातायातले यात्रुसँग बढी भाडा लिएको प्रमाणित भए दशैभर गाडी नियन्त्रणमा लिने चेतावनी दिनुभएको छ । उहाँले बढी भाडा लिने यातायातको बारेमा तत्काल प्रहरी प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै बढी भाडा लिने गाडीलाई नियन्त्रणमा लिएर दशैभर सञ्चालन गर्न नदिने चेतावनी दिनुभएको हो ।


‘कानुन अनुसार यातायात व्यवसायीले भाडा लिन पाउनुहुन्छ’, उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कुनै पनि यातायात व्यवसायीले कानुन विपरीत बढी भाडा लिएको प्रमाणित भएमा तत्काल नियन्त्रणमा लिएर कारवाही गछौं ।’ उहाँले छत माथि यात्रु राखेर यातायात सञ्चालन नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै यातायात क्षेत्रलाई कमाउनेसँगै सेवाको व्यवसायको रुपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभयो ।

‘एउटा चालकलाई दिनभर गाडी सञ्चालन गर्न लगाउनु हुँदैन, यसको लागि यातायात सञ्चालक जिम्मेवार हुनुपर्छ’, प्रजिअ पाण्डेले भन्नुभयो,‘चालकले मापासे गरे नगरेको चेकजाँच हुन्छ, कुनै कुनै चालकले गाँजा सेवन गरेर पनि यातायात चलाउने गरेको गुनासो आएको छ, यस विषयमा हामी गम्भीर छौं ।’

प्रतिक्रिया दिनुहोस्