रामेछापमा देखिन थाल्यो डेंगुः यी हुन सावधानीको १५ उपाय



राजन महतारा क्षेत्री
३१ भदौ, रामेछाप । रामेछापमा डेंगुको सक्रमण बढन थालेपछि जनस्वास्थ्य कार्यालय रामेछापले सावधानी अपनाउन जिल्लावासीहरुलाई आग्रह गरेको छ । देशको विभिन्न जिल्लाहरुमा देखिएको डेंगु रोगको संक्रमण रामेछाप जिल्लामा समेत देखिन थालेकाले कार्यालयले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको हो ।

स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनालले ८ वटा स्थानीय तहका सरकारहरु जनचेतनाको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रामेछाप जिल्लामा विस्तारै संक्रमण फैलन सक्ने भएकाले समयमै सचेत भई संक्रमणबाट जोगिन नागरीकहरुलाई उहाँले आग्रह गर्नुभयो ।

डेंगु रोगका लक्षणहरु
यसको संक्रमणमा सुरूवातको दिनमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखा परेपनि संक्रमित मध्ये केही भने सिकिस्त पनि हुन जान्छन ।

रोग लाग्नबाट यसरी बच्नुहोस्
रोग लाग्नै नदिन हातखुट्टा छोप्ने लुगा लगाउने, हातमा भन्दा लामखुट्टेले कुर्कुचा र घाँटीको पछाडि बढी टोक्ने भएकाले अनिवार्य पेन्ट, ट्राउजर लगाउने, पानी जम्ने टायर, फलिएका भाँडाबर्तन, प्लाष्टिकका कागज जसमा पानी जम्छ त्यसलाई सफा गर्ने, पानी जम्ने खाडल पुर्ने, स्कुल, चौर, घर वरपर लामखुट्टे भगाउने र मार्ने औषधी छर्किने काम गर्नुपर्छ ।

त्यसैगरी चिकित्सका अनुसार हातखुट्टामा लामखुट्टे भगाउने लोसन र कृम लगाउने, आफ्नो घर वरिपरी झार तथा रुखका हाँगा कटाएर खुला वातावरण बनाउने, गोवरजन्य गन्ध आउने बस्तुलाई घरबाट टाढा राख्ने, बेलुकाको समयमा घरका झ्यालहरु बन्द गर्ने,भ्यालको जाली लगाउने, अनावश्यक बाहिर नजाने, केटाकेटीलाई ४ देखि बेलुका ६ बजे सम्म बाहिर अनावश्यक हिंड्न र खेल्न नदिने,लामखुट्टेकाका लाभाहरु मार्न स्वास्थलाई असर नपार्ने गरि औषधीको प्रयोग गर्ने तथा राती सुत्दा झुलको प्रयोग गर्ने गर्नुपर्छ ।

रोग लागेको आफूलाई शंका लागेमा तुरुन्त नजिकै रहेको स्वास्थ संस्थामा चेक जाँच गराउने र संक्रमणको समयमा कसैलाई पनि रक्त आदान प्रदान नगर्ने काम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्