छोराछोरी विद्यालय नपठाए सेवा सुविधा राेक्ने सुनापती गाउँपालिकाको चेतावनी



३१ भदौ, रामेछाप ।
सुनापती गाउँपालिकाले छोरोछारी विद्यालय नपठाउने अभिभावकहरुलाई राज्यले उपलब्ध गराउने सेवा सुविधा बन्द गर्ने चेतावनी दिएको छ । गाउँपालिकाले अभिभावकहरुले अनिवार्य रुपमा आफ्ना छोराछोरीहरुलाई विद्यालय पठाउन आग्रह समेत गरेको छ ।

सुनापति गाउँपालिका प्रमुख धावा लामाले आफ्ना छोराछोरीहरुलाई बिद्यालय नपठाउने अभिभावकलाई नागरिकता सिफारिस सामाजिक सुरक्षा भत्ता लगायत राज्यबाट पाउने सुविधाबाट बन्चित गराउने चेतावनी दिनुभएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा पशुपति मावि हिलेदेवीमा आयोजित सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार बिषयक बक्तृत्व कला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाले शिक्षाको उज्यालोबाट कुनैपनि बालबालिका बन्चित गराउन नहुने धारणा राख्नुभयो ।

बालबालिकाको शिक्षा मात्रै हैन स्वास्थ्यलाई समेत मध्य नजर गर्दै ‘एक बिधालय एक नर्स’ को प्रावधानलाई अघि बढाएको र आगामी वर्ष देखि सबै बालबालिकाको स्वास्थ्य परीक्षणपछि मात्रै बिद्यालय भर्ना गर्नुको साथै दिउसो खाजाको ब्यवस्था गरिने उहाँले बताउनुभयो ।


सुनापति गाउँपालिकाको ५ वटै वडाका बिभिन्न बिद्यालयहरुबाट सहभागी १५ जना प्रतिगोगीहरु मध्ये डहू माबिकी बिपना तामाङ प्रथम, कृष्ण वर्णेश्वर माविकी उर्मिला बिसुङ्खे द्वितीय तथा कृष्ण्पुरी माविका रामकृष्ण खड्का तृतीय भएका थिए ।

विजयी प्रथम, द्वितीय र तृतीयलाई आयोजक सुनापति गाउँपालिकाद्वारा नगद दश हजार, सात हजार, पाँच हजार, शिल्ड तथा प्रमाणपत्र प्रदान गिएको थियो ।कार्यक्रममा सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई सहित विभिन्न विद्यालयका प्रअ तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
जीबी लामाबाट

प्रतिक्रिया दिनुहोस्