युरो कपको लागि मन्थली माविका तीन खेलाडी र एक प्रशिक्षक छनोट



१ रामेछाप, असोज ।
नमूना विद्यालयको रुपमा स्थापित रामेछापको मन्थली माविबाट पहिलो पटक युरो कपको लागि खेलाडी र प्रशिक्षक छनोट हुन सफल भएका छन् । युरोपको बेलारुसमा हुने सितोरियो करातेतर्फको युरो कपका लागि मन्थली माविमा अध्ययनरत तीन जना विद्यार्थी र एक जन प्रशिक्षकको रेफ्रीका रुपमा छनोट भएका हुन् ।
युरो कपका लागि छनोट भएकाहरुमा मन्थली माविमा कक्षा १० मा अध्ययनरत सम्झना माझी, कक्षा ९ मा अध्ययनरत सञ्जिव तामाङ र कक्षा ११ मा अध्ययनरत विश्वास हायु रहेका छन् । प्रशिक्षकको रुपमा शुक्र गुरु छनोट भएका हुन् ।


मन्थली माविका शैक्षिक प्रमुख चन्द्रसिंह धामीले युरो कपको लागि विद्यालयमा अध्ययनरत विद्यार्थीहरु छनोट हुन निकै खुसीको विषय भएको रामेछाप न्युजलाई बताए । उनले शिक्षासँग विद्यालयले खेलकुद लगायतका गतिविधिमा पनि ध्यान दिएकै कारण युरो कपमा सहभागी हुने अवसर मिलेको बताए । प्रमुख धामीले खेलकुद प्रमुख नरसिंह धामी र विद्यालयमा करातेको सुरुवात गर्नुहुने हिमाल गुरुप्रति पनि विशेष धन्यवाद दिएका छन् ।

मन्थली माविका प्रअ टंक प्रसाद दाहालले विद्यालयले शिक्षा मात्र नभई खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएकै कारण विद्यालयका विद्यार्थीहरुले युरो कपमा खेल्ने अवसर प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस्