घरघरमा दिपावली गर्न रामेछाप नगरपालिकाको आग्रह



राजन महतारा क्षेत्री
३ असोज, रामेछाप । रामेछाप नगरपालिकाले संविधान जारी भएको दिनको अवसरमा घरघरमा दिपावली गर्न नगरवासीलाई आग्रह गरेको छ । नेपालको संविधान २०७२ जारी भएको ४ वर्ष पूरा भएको अवसरमा नगरपालिकाले यस्तो आग्रह गरेको हो ।
नगरपालिकाले संविधान दिवसको अवसरमा आज रामेछाप माथिल्लो बजारदेखि कारागार कार्यालय अगाडीको खुल्ला मैदानसम्म पन्चेबाजा सहित र्याली निकालेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले नेपालको संविधानले नेपाली जनताको हितमा बनेको उत्कृष्ट संविधान रहेको बताए । उनले संविधानले प्रदान गरेको हक र अधिकार अनुसार सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
नगरपालिकाका उपप्रमुख सृजना खड्काले संविधान कार्यान्वयनमा तिन तहको सरकारको भुमिका महत्वपुर्ण हुने बताउँदै संविधानले दिएको अधिकार अनुसार काम गर्न सके मात्रै संविधान पुर्ण रुपमा कार्यन्वयनमा आउने बताइन ।
कार्यक्रममा रामेछाप नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्की , नेपाली कांग्रेस जिल्ला कार्य सििती रामेछापका सदस्य गौतम कुमार श्रेष्ठ , नेपाल कम्युनिष्ट पार्टीका रामेछापका जिल्ला कमिटी सदस्य ढाल विक्रम कार्की लगायतले संविधान दिवसको शुभकामना सहित मन्तव्य राखेका थिए ।
रामेछाप नगरपालिकाका कानुनी सल्लाहकार लोकहरी दाहालले संविधानको विकास क्रम र संविधानको विशेषताहरुको बारेमा कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपाली पन्चेबाजा सहितको नृत्य , नेपाल तेक्वान्दो संघ र गौरीशंकर उमावि रामेछापको राष्ट्रिय सेवा दलका टोलीले खेल प्रदर्शन गरेको थियो । नगरपालिकाले आज साँझ रामेछाप बजारमा दिपावली गर्ने बताएको छ । साथै नगरपालिकाले सरकारी कार्यलय , संघसंस्था तथा घरघरमा साँझ दिपावली गर्न समेत नगरवासीहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्