रामेछापमा प्रहरीको चेतावनीः बढी भाडा लिए ठाउँको ठाउँ कारवाही



राजन महतारा क्षेत्री
८ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले यात्रुहरुसँग बढी भाडा लिने सवारीलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिएको छ । दशैँको बेला हुने सवारी चाप र यात्रुहरुको सहजतालाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापले संयुक्त रुपमा यही असोज ११ गतेदेखि नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुसार स्थापना हुन लागेको सहायता कक्षबाट नागरिकहरूले महसुश गर्ने गरी सेवा उपलब्ध गराउन लागेको जिल्ला प्रहरी कायालय रामेछापका प्रमुख सन्तोष भट्राईले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सदरमुकाम मन्थलीको बसपार्क र सेलेघाटमा नागरिकता सहायता कक्ष स्थापना हुनेछ ।

चाडपर्व नजिकिँदै जाँदा जिल्लामा यातायात व्यवस्थापन सम्बन्धि विभिन्न खाले गुनासोहरु आउने भएकाले त्यस्ता गुनासोहरु तत्काल समाधान गर्न सकियोस भन्ने उद्धेश्यकका साथ नागरिक सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले बताउनुभयो ।

नागरिक सहायता कक्षमा सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिए, क्षमता भन्दा बढी यात्रु बोके, आरक्षण सिट नदिए, मादक पदार्थ सेवन गरी सवारी चलाए ,सवारीको बिलबुक र चालकको लाईसेन्स विना सवारी चलाएको थाहा पाएको अवस्थामा प्रहरीले कारवाही गर्नेछ ।
त्यसैगरी यात्रुलाई गन्तव्यमा नपुराइ बीचबाटोमै छोडिदिने जस्ता विभिन्न प्रकारका समस्याहरु भोगेमा, देखेमा वा थाहा पाएमा नागरिक सहायता कक्षमा गएर गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यात्रुहरुले राखेको गुनासोहरुलाई तत्कालै सम्बोधन गरिने ट्राफिक प्रहरी प्रमुख भित्रिकोटीले बताउनुभयो । यात्राको क्रममा केही समस्या परेमा तुरुन्त आफनो मोबाईल नम्बर ९८४४०२४४०१ मा फोन गर्न पनि भित्रिकोटीले नागरिकहरुसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्