रामेछापको पर्यटकीय सडक खैरेनीघाट हुँदै सैलुङसम्मको सडक कालोपत्र हुँदै 



९ असोज, रामेछाप ।
पर्यटकीय क्षेत्र सैलुङसम्म जोडने सडक कालोपत्रे हुने भएको छ । राजधानी काठमाडौं सैलुङ जोडने छोटो दुरी मानिएको खैरेनीघाट राकाथुम गाल्वा दोरम्बा हुँदै सैलुङसम्मको सडक कालोपत्र गर्ने काम अगाडि बढेको हो ।
तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा खैरेनीघाटदेखि सैलुङसम्म जोडने करिब ३० किलोमिटर सडकको कालोपत्रेको काम अगाडि बढेको छ । सडक कालोपत्रे गर्नको लागि यस आर्थिक बर्ष तीन नम्बर प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ । सडक कालोपत्रे गर्नको लागि प्राविधिक अध्ययन समेत सम्पन्न भइसकेको छ ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले निर्वाचनको क्रममा रामेछापवासीसँग उक्त सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । अर्थमन्त्री ढुंगेलले रामेछाप न्युजसँग भने,‘निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्दैछु, खैरेनीघाटबाट सैलुङसम्म जोडने सडकलाई पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष्य छ ।’ बहुबर्षिय ठेक्का प्रक्रिया अन्तर्गत निर्माण हुन लागेको सडक निर्माणको लागि आगामी बर्ष बजेट बढाउदै लैजाने मन्त्री ढुंगेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्