रामेछापमा टाटासुमोको दादागिरीः सरकारलाई चुनौती दिदै भाडा असुल्दै



१२ असोज, रामेछाप ।
रामेछापबाट काठमाडौं सञ्चालन हुने टाटासुमोले तोकिए भन्दा बढी बाढी लिने गरेको पाइएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट काठमाडौंसम्मको १ सय ४० किलोमिटरको लागि ४ सय १९ रुपैयाँ भाडा निर्धारण गरिएको छ । तर टाटासुमो सञ्चालकहरुले ८१ रुपैयाँ बढी अर्थात पाँच सय रुपैयाँ लिने गरेका छन् । सरकारलाई चुनौती दिदै टाटोसुमोहरुले भाडा समायोजन भएको दुई बर्ष अघिदेखि नै बढी भाडा असुल्दै आएका छन् ।

मन्थलीबाट काठमाडौं सडक कालोपत्रे भएपनि टाटासुमोहरुले सरकारलाई नै चुनौती दिदै खुलेआम रुपमा भाडा असुल्दै आएका छन् । रामेछाप र काठमाडौंमा रहेका काउन्टमा रामेछाप जाने आउने यात्रुसँग पाँच सय रुपैयाँ भाडा लिइदै आएको छ । मन्थली–काठमाडौं सञ्चालन हुने अन्य वसहरुले तोकिए अुनसारको भाडा लिए पनि टाटासुमोहरुले दादागिरी देखाउदै यात्रुहरुसँग बढी भाडा असुल्दै आएको गुनासो यात्रुहरुको रहेको छ ।

संविधानसभाका सदस्य तारानारायण श्रेष्ठले रामेछापबाट काठमाडौं चल्ने टाटासुमोले दोब्बर भाडा लिएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘टाटासुमोले लिने भाडा अत्याधिक महंगो भएको छ, यसको बारेमा प्रशासनलाई पनि हामीले जानकारी गराएका छौं ।’ आइतवार काठमाडौंबाट मन्थली जानको लागि भाडा कति लाग्छ भन्ने रामेछाप न्युजको जिज्ञासामा काटेश्वरस्थित त्रिवेणी यातायात प्रालिको काउन्टरमा रहेका कर्मचारीले पाँच सय रुपैयाँ लिने गरेको जवाफ दिए ।

भाडा महंगो भएन र भन्ने जिज्ञासामा ती कर्मचारीले थप जवाफ दिए– हामीले सुरुदेखि नै पाँच सय रुपैयाँ लिने गरेका छौं, प्रशासनको अनुमति लिएर पाँच सय रुपैयाँ लिएको हो । अझ यात्रुहरुले अहिले दशैको मौका छोपेर टाटासुमोहरुले पाँच सयको ठाउँमा आठ सयदेखि एक हजार रुपैयाँसम्म भाडा लिने गरेको गुनासो गरेका छन् ।

यता रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसी पाण्डेले मन्थली–काठमाडौं सञ्चालन हुने सवारीको भाडा आफूहरुले निर्धारण नगरेको रामेछाप न्युजलाई जानकारी दिनुभयो । काठमाडौंमा भने टाटासुमो व्यवसायीहरुले प्रशासनलाई देखाउदै बढी भाडा असुल्दै आएका छन् ।

रामेछापमा वेणी त्रिवेणी यातायात प्रालि, अरनिको यातायात प्रालि, हिमाल तराई यातायात सेवा समिति, रोयल सिटी भिलेज यातायात प्रालि, हिमंगा यातायात प्रालि, कुशेँवर यातायात सेवा प्रालि, रामेछाप सिटी भिलेज यातायात प्रालि, नेपाल माईक्रोवस प्रालि र हिमगंगा एक्सप्रेस प्रालि दर्ता भएर सञ्चालनमा रहेका छन् । सबै यातायात प्रालीले बढी भाडा लिएकाे गुनासाे यात्रुकाे छ ।

प्रतिक्रिया दिनुहोस्