महरा प्रकरणः पीडित महिलाले दिइन प्रहरीमा निवेदन



१५ असोज, काठमाडौं ।
सभामुख कृष्णबहादुर महराबाट यौन दुव्र्यवहार भएको बताएकी संसद सचिवालयकी महिला कर्मचारीले प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । ती महिलाले आफूमाथि कुनै दुव्र्यवहार नभएको भन्दै प्रहरीमा निवदेन दिएकी हुन् । आइतबार उनी आफूलाई सभामुख महराले यौन दुव्र्यवहार गरेको भन्दै मिडियामा आएकी थिइन् ।

तर त्यसको २४ घन्टा पनि नबित्दै उनले उक्त बोली फेर्दै महराबाट कुनै पनि दुव्र्यवहार नभएको बताएकी थिइन । बुधबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुगेर ती महिलाले निवेदन दर्ता गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले बताए।

पछिल्लो समय आफू डिप्रेसनको बिरामी रहेको र औषधि समेत खाँदै आएको बताउने ती महिलाले महराले आफूमाथि कुनै दुव्र्यवहार नगरेको र समाचार कसरी बाहिरियो भन्नेबारे कुनै जानकारी नभएको निवेदनमा उल्लेख गरेको बताइएको छ ।

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुका भनाइ बाहिरिएपछि महराले नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । महराले दिएको राजीनामा बुधबार स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्