पूर्व सभामुख महरा विरुद्ध शाहीले दिइन उजुरी, प्रहरीले महरालाई भोली पक्राउ गर्दै



१८ असोज, काठमाडौं ।
पूर्व सभामुख कृष्ण बहादुर महराले यौन दुव्र्यवहार भन्दै पीडित रोशनी शाहीले प्रहरी समक्ष किटानी जाहेरी दिएकी छिन् । यसअघि महरालाई बुवा समान व्यक्ति भएको बताउँदै मिडियामार्फत देखा परेकी रोशनी शाहीले नै महराविरुद्ध उजुरी दिएकी हुन ।
जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा शाहीले जोहरी दिएकी हुन् । आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका उच्च स्रोतले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार महरालाई भोली पक्राउ गरेर अनुसन्धानको लागि अदालतमा म्याद थप गर्ने भएको छ ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो । प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो ।

महराले सभामुख पदबाट राजिनामा दिएकै साँझ निज महिलाले एक अनलाईनलाई भिडियो अन्तर्वार्ता दिँदै महरा निर्दोष भएको बताएकी थिइन । त्यसको लगत्तै उनको सम्बन्ध विच्छेद भएको समाचार उनका श्रीमानले फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले आफू डिप्रेसनको औषधी आइरहेको बताउँदै स्वास्थ्य परीक्षण गर्न समेत मानेकी थिइनन् । त्यसपछि उनले वानेश्वर वृत्तमा नै आफूमाथि महराले कुनै दुव्र्यवहार नगरेको निवेदन दर्ता गरेकी थिइन । प्रहरीले शाहीको कोठामा भेटिएको प्रमाणलाई आधार बनाएर अनुसन्धान अगाडि बढाइएको छ । त्यसैगरी प्रहरीले शाहीको स्वाथ्य चेकजाँच समेत गरेर रिपोर्ट अध्ययन गरिरहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथीको अनुसन्धान गर्न निर्देशन दिएका छन् । गृहमन्त्री थापासहितको बैठकमा निष्पक्ष भएर अनुसन्धान गर्न उनले प्रहरीका उच्च अधिकारीलाई निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्रीसहित आईजीपी सर्वेन्द्र खनाल, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी शैलेश थापा क्षेत्री, परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी र वृत्त नयां बानेश्वरका डीएसपी दुर्गाराज रेग्मी उपस्थित थिए । महराको घटनाको अनुसन्धान आईजिपी खनालकै नेतृत्वमा जारी छ । मन्त्री थापालाई उनले घटनाको बिफ्रिङ समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्