मन्थली–लुक्ला उडान पुनः सुचारु मन्थलीका होटल खचाखच



२० असोज, रामेछाप ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उडान पुनः सुरु भएको छ । यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत गर्ने क्रममा तीन महिना अघि पनि मन्थलीबाट लुक्ला उडान गरिएको थियो । नागरिक उड्यान प्राधिकरणले पर्यटकहरु आवागमन हुने मुख्य पर्यटकीय गन्तव्य लुक्लाको लागि मन्थलीबाट उडान सुरु गरेको हो ।

असोज १४ गतेबाट नियमित रुपमा लुक्ला उडान सुरु भएको नेपाल नागरिक उडयान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार मन्थली–लुक्ला दैनिक चालिस भन्दा बढी उडान हुने गरेको छ । एक साताको अवधिमा चार सय भन्दा बढी उडान भएको बताउदै हेलिकोप्टरको उडान पनि नियमित भइरहेको बताउनुभयो ।

लुक्लाको मौसम क्षण–क्षणमा परिवर्तन भइरहने हुँदा हवाई उडानको समय थपघट भइरहन्छ । यद्यपि, औसतमा काठमाडौं–लुक्ला उडान समय ३५ देखि ४० मिनेटको हुने गर्छ । तर, रामेछापबाट उडान सुरु भएपछि लुक्ला पुग्न २० देखि २२ मिनेट लाग्ने गरेको छ । प्रमुख चौरसियाले रामेछापबाट उडानका लागि धेरै चाप नपर्ने र समयमै उडान भर्न सकिने बताउनुभयो ।

उहाँका अनुसार मौसम अनुकूल भएमा रामेछापबाट पनि दैनिक ५० उडान गर्न सकिनेछ । मन्थली विमानस्थलबाट सिता, तारा र समिट एरलाइन्सले उडान भदै आएका छन् । नियमित उडान भएसँगै सदरमुकाम मन्थलीमा रहेका होडलमा पर्यटकहरु खचाखत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्