चिनियाँ राष्ट्रपति सी नेपाल आउने भ्रमण तालिका सार्वजनिकः स्वागत र सम्झौतामा सरकारको तयारी तीब्र



२२ असोज काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै सरकारले स्वागतको तयारी व्यापक बनाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि सरकार जुटेको छ । राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले रातारात भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुईदिवसीय राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक भ्रमणको क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

नेपाल र छिमेकी चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध रहेको तथा पछिल्लो समयमा आपसी मित्रता र सहकार्य थप अभिवृद्धि गर्न दुवै मुलुकको नेतृत्व तयार देखिएकाले राष्ट्रपति सीको राजकीय भ्रमणले जनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
२३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि राष्ट्रपति सी सवार हुने सडकहरु नयाँ कालोपत्रसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राख्न थालिएको छ । मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाउन थालिएको छ नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवद्र्धन हुने ठानिएको छ ।

यतिबेला त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्