नागरिकमैत्री सेवा प्रवाह गर्ने डिएसपी भट्टराईको प्रतिबद्धता



२४ असोज, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले प्रहरीले नागरिकमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले विगतदेखि नै प्रहरीले जनतालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि सुदृढ बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
६४ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख भट्टराईले जिल्लाभित्र शान्ति सुरक्षाको अवस्था मजुबद्ध रहेको बताउनुभयो । उहाँले समदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको बताउदै जिल्लाको ८ वटा स्थानीय तह र ६४ वटा वडामा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेत, श्री नयाँ गोरख गण रामेछापका गणपति प्रमुख सेनानी गणेश सिंह भण्डारी, सशस्त्र प्रहरी बल रामेछापका प्रमुख रमेश थापा, लगायतको सहभागीता रहेको थियो ।
७ पूर्व प्रहरीलाई सम्मान
जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका ७ जना पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्व प्रहरी प्रहरी नायक निरीक्षक काजी श्रेष्ठ, प्रहरी नायक निरीक्षक मोहन थापा प्रहरी सहायक निरीक्षक मनमान दर्जी, प्रहरी सहायक निरीक्षक उद्धव थापा, प्रहरी हल्वलदार देवी बहादुर थापा, प्रहरी हल्वदार चन्द्र बहादुर श्रेष्ठ र प्रहरी हल्वलदार जनार्दन थापा रहेका छन् ।

त्यसैगरी प्रहरीले अमर प्रहरी परिवारका तीन परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । अमर प्रहरी निरीक्षक टेक बहादुर श्रेष्ठको दाजु ओम बहादुर श्रेष्ठ, प्रहरी हवल्दार पदम बहादुर थापको श्रीमती कृष्णमाँया थापा र प्रहरी जवान ओम प्रकाश भण्डारीको आमा कर्णमाया भण्डारीलाई सम्मान गरेको हो । यस जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत ६ जना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पनि पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्