यस्तो छ चिनियाँ राष्ट्रपतिको नेपाल बसाइको २१ घन्टे कार्यतालिका



२४ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने भएका छन् । आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सी सवार विमान शनिबार ४ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनेछ । दुई देशका राष्ट्र प्रमुख बीचको भेट साँझ ६ः३० मा हुनेछ । त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ । देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्नुहुने भएको छ ।


आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ।सी भ्रमणका क्रममा शनिबार दिउँसो २ः५५ बजेदेखि ५ः२५ सम्म र आइतबार दिउँसो १ः२० बजेदेखि ३ः५० सम्म विमानस्थल बन्द हुनेछ ।

यी हुन भ्रमणका एजेण्डा

सीको नेपाल भ्रमणका अवसरमा नेपालले ठूला भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिएको बुझिएको छ । यस भ्रमणका अवसरमा नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवम् लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदा तयार गरेको हो ।

त्यसैगरी सीको भ्रमणको अवसरमा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी गरिएको छ । यो नेपाल र चीन जोड्ने दोस्रो राजमार्गको हो । नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका(मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने सम्झौतामा पनि समझदारी गर्ने नेपाल सरकारले तयारी गरेको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ । सोही सम्झौतालाई कार्यान्वनयका लागि पनि दुई देशबीचको पूर्वाधार सञ्जालमा नेपाल सरकारले विशेष जोड दिएर यस भ्रमणको सदुपयोग गर्न लागेको देखिएको छ ।

चीनका बन्दरगाह जोड्नका लागि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माण एवम् विस्तार जरुरी देखिएको छ । यसै विषयलाई मध्येनजर गरेर सरकारले सम्झौताको तयारी गरेको हो ।

त्यस्तै चिनियाँ पक्षले पनि बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महत्त्वकांक्षी परियोजना लिएर आगडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ । अन्तरदेशीय सञ्जालको विस्तार र विकासमार्फत कूटनीतिक एवम् आर्थिक सञ्जाल बढाउने चीनको विशेष चासो हुनेछ । यसै सिलसिलामा नेपाल पनि बीआरआई पक्ष राष्ट्र भएको सुरक्षा र यातातातको बहुआयामिक सञ्जाल विस्तारका लागि चिनियाँ पक्ष आतुर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्