हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चिनियाँ राष्ट्रपति सीको घोषणा



२५ असोज, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् ।राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले होटल सोल्टीमा रात्रीभोज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।

शीर्ष नेताहरुको उपस्थिति रहेको रात्रीभोजलाई दुवै राष्ट्रपतिले सम्बोधन गरेका थिए । पहिले सम्बोधन गर्नुभएका नेपालका राष्ट्रपति भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताउनुभएको थियो ।

त्यसपछि सम्बोधन गरनुभएका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताउदै रसुवागढी–छहरे–काठमाडौं सुरुङ मार्ग निर्माण गर्ने र अरनिको राजमार्गको स्तरोन्नती गर्ने पनि घोषणा गर्नुभयो । दुई देशबीच सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सीले नेपाल–चीन सम्बन्धमा कुनै समस्या नरहेको, मित्रतामात्र रहेको बताउदै नेपाल आउँदा पुराना तथा नयाँ साथीहरुसँग भेट भएको भन्दै आगामी दिनमा दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने बताउनभुयो ।

नेपाली नेतासँग मिलेर दुई देशको सम्बन्धको नयाँ खाका कोरेको भन्दै सीले भन्नुभयो,‘हामीले बनाएको योजना पूरा गरौं, चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं ।सीले नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै चिनियाँ पर्यटकलाई नेपालमा जान उत्प्रेरित गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्