रामेछापका पाँच खेलाडी पहिलो पटक युरो कप खेल्दै



२९ असोज, रामेछाप ।
रामेछाप जिल्लाबाट बेलारुसमा हुने युरो ओपन कपको लागि पाँच खेलाडी सहभागी हुने भएका छन् । अक्टोबर १७ देखि अक्टोबर २१ गतेसम्म हुने युरोकप च्याम्पियनसिप कराते प्रतियोगीतामा पहिलो पटक रामेछापका पाँच खेलाडी छनोट भएका हुन् ।

प्रतियोगीतामा मन्थली माविमा कक्षा १० मा अध्ययनरत छात्रा सम्झना माझी, कक्षा ९ मा अध्ययनरत छात्र सञ्जिब तामाङ र कक्षा १२ मा अध्ययनरत छात्र विश्वास हायु रहेका रहेका छन । त्यसैगरी तामाकोशी इगंलिस बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्र विशाल केसी र लिटिलस्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत रोशन खाती रहेका छन् । खेलका प्रशिक्षक समेत रहेका शुक्र माझी रेफ्रीको रुपमा बेलारुपमा सहभागी हुने छन् ।

नेपालबाट रामेछापका पाँच खेलाडी र रेफ्री सहित १६ खेलाडी सहभागी हुने छन् । प्रतियोगीतमा भाग लिन १६ खेलाडीको टोली आज प्रस्थान गर्ने प्रशिक्षक शुक्र माझीले रामेछाप न्युजलाई जानकारी दिनुभयो । त्यसैगरी खेलमा सहभागी खेलाडीहरुलाई मन्थली मावि, मन्थली नगरपालिकाले संयुक्त रुपमा विदाइ गरेको छ ।

प्रतियोगीतामा सहभागी हुने ५ जना खेडालीको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने बताउदै प्रशिक्षक माझीले मन्थली नगरपालिकाबाट ३ लाख, रामेछाप नगरपालिकाबाट २ लाख, मन्थली माविबाट १५ हजारको आर्थिक सहयोग जुटेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अ नुसार नपुगेको खर्च खेलाडीको अभिभावकहरुले नै जुटाउने छन् ।

प्रतिक्रिया दिनुहोस्