यस्तो देखियो नेकपाको चियापान (फोटोफिचर)



२९ असोज, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रम सम्पन्न भएको छ । नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमले नेता, कार्यकर्ता र सर्वसाधारणमा आपसमा व्यस्त दखिन्थे । नेपालको राजनीतिमा बिपी कोइरालाले भारतबाट विसं २०३३ मा स्वदेश फर्केपछि एकता र मेलमिलापका लागि यस्तो चियापानको आरम्भ गर्नुभएको थियो भने विसं २०४६ मा बहुदलीय प्रजातन्त्रको स्थापनापछि तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले बडादशैँका अवसरमा चियापान कार्यक्रम आयोजना शुरु गर्नुभएको थियो । पछि अन्य दल र सामाजिक संस्थाले पनि यस्ता कार्यक्रम गर्दै आएका छन् । तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७४ जेठ ३ गते एकतापछि नेकपाको यस वर्ष दोस्रो चियापान कार्यक्रम हो ।


चियापान कार्यक्रमलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेतासँगै रहेर स्वागत गर्नुभएको थियो । अध्यक्षद्वय ओली र दाहालले आरम्भमै सम्बोधन गरी शुभकामना दिँदै विकास र समृद्धिको यात्रामा सामेल हुन सबैमा आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्ड कार्यक्रमबाट केही अगाडि बाहिरिनुभएको थियो भने अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङलगायत साँझ करीब ५ बजेसम्मै रहनुभएको थियो ।

खचाखच उपस्थिति रहेको कार्यक्रममा मञ्चको पछाडिको चौरमा शुभकामनाको ब्यानरसहित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको ठूलो तस्वीर राखिएको थियो, जहाँ पुगेर तस्वीर खिचाउनेको पनि भीड देखिएको थियो । ठाउँठाउँमा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको तस्वीर अङ्कित होडिङ बोर्ड र कम्युनिष्टको अन्तर्रा्ष्ट्रिय चिह्न हँसिया हथौडा र नेकपाको चनाव चिह्न सूर्यमा पनि तस्वीर खिचिएको थियो ।
चियापनमा सहभागी हुनेलाई खजुरी, निमकिन, मिठाइ र केराले खुवाइएको थियो । कार्यक्रममा काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी (क्रान्तिकारी) का नेता सिपी गजुरेल, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारी, साहित्यकार, कलाकार, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।
विशिष्ट पाहुनालाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल, प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्