रामेछापमा यसरी गरियो विमान दुर्घटनाको नमूना अभ्यास (भिडियोसहित)



३० असोज, रामेछाप ।
सम्भावित दुर्घटनापछिको उद्दार गर्दा अपनाउनु पर्ने विधिको बारेमा रामेछापमा नेपाली सेना सहित सुरक्षाकर्मीहरुले नमूना अभ्यास गरेका छन् । जुनसुकै बेला पनि हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै यदी दुर्घटना भइहालेको अवस्थामा गर्नुपर्ने उद्दारको बारेमा अभ्यास गरेको हो । नेपाली सेना गोरख गण रामेछापले दुर्घटनाका बेला उद्वारका क्रममा अपाइने सुरक्षा तथा सतर्कता सम्बन्धि अभ्यास प्रदर्शन गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार केसीले दुर्घटना कुनैपनि बेला हुन सक्ने भएकाले दुर्घटना भएपछि गर्नुपर्ने आवश्यक ज्ञान, सीप ,साधन तथा जनशक्तिको भुमिका बारेमा जानकारी गराइएको बताउनुभयो ।

नमुना अभ्यासमा मन्थलीबाट लुक्ला उडानको लागि तयारी अवस्थामा रहेको नक्कली बिमानमा आगो लाग्छ । सुरक्षाकर्मी तत्काल उद्दारमा खटिन्छन् । एक साथ एम्बुलेन्स र दमकल उपलब्ध हुन्छ । नमूना अभ्यासमा विमानमा लागेको आगो नियन्त्रणका लागि दमकलको पानी प्रयोग गर्नुको साथै फायर ग्यासको प्रयोग गरेर आगो नियन्त्रण गर्न सफल भएको देखिन्छ ।

जिल्ला विपद व्यवस्थापन समितिको रामेछापको समन्वयमा नेपाली सेना गोरख गण रामेछापले नमूना अभ्यास गरेको हो । नमूना अभ्यासको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी, जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम खड्का, मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, सन्तोष भट्टराई लगायत विभिन्न राजनीतिक दलका नेता र स्थानीयको बाँलो उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्