कुलमानको सफलताः प्रसारण लाइन सम्पन्न गर्न मोदी सहमत



१ कार्तिक, काठमाडौं । विवादित बनेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करीब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा अवरोध भएको थियो ।
अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा त्यस क्षेत्रका सङ्घीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेपछि सहमति जुटेको हो ।

मुख्य मन्त्री राईले प्रसारण लाइन निर्माणको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको बताउनुभयो । मुख्य मन्त्री राईले निर्माणमा अवरोध हटेपछि समस्या समाधान गर्न पहल गर्दै यसअघि मोरङ क्षेत्र नम्बर ४ का सङ्घीय सांसद अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गर्नुभएको थियो ।

सहमतिपछि सांसद मोदीले प्रसारण लाइन निर्माणमा आफूले कहिले पनि अपरोध नगरेको बताउदै भन्नुभयो,‘ प्रसारण लाइन निर्माणमा मोदीले पैसा मागेर अवरोध ग¥यो भन्ने सम्मका गलत आरोप म माथि लगाइयो, तर मैलै अवरोध गरको छैन, लाइन निर्माण हुनुपर्छ भन्दै शुरुबाटै निरन्तर सहयोग गरिरहेको व्यक्तिमाथि झुटो आरोप लगाइयो ।’

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताउनुभयो । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसदले पैसा मागेर अवरोध गरेको नभनेको स्पष्ट पार्नुभयो । प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा तीन किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या समाधान हुन्छ, विराटनगरमा समेत भोल्टेजको समस्या नदेखिने प्राधिकरणले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्