खाँडादेवी गाउँपालिकाको डब्खामा एकीकृत नमूना बस्ती निर्माण हुँदै



स्नेहा सिलवाल
३ कार्तिक, रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–३ भीरपानीस्थित डब्खामा एकीकृत नमूना वस्ती निर्माण हुने भएको छ । गाउँपालिकाको योजनामा तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुगेलको पहलमा डब्खाको माझी बस्तीमा नमूना वस्ती निर्माण हुने भएको हो ।
खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अल्पसंख्यक माझी समुदायको लागि नमूना वस्ती निर्माण गर्ने योजना गाउँपालिकाले अगाडि बढाएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हामीले डब्खामा निर्माण गर्न लागिएको रामेछाप जिल्लाकै पहिलो नमूना वस्ती हो ।’ निर्माण हुने घर दुई कोठाको हुनेछ ।

सुनकोसी नदी किनारासँगै रहेको डब्खाको माझी वस्ती भुकम्प प्रतिरोधी हुनेछ । गाउँपालिकाका अध्यक्ष तामाङका अनुसार डब्खामा ४२ घर बन्नेछ । नमूना वस्ती निर्माण गर्नको लागि सर्भे र डिजाइनको काम अगाडि बढेको छ । गाउँपालिकाका अध्यक्ष तामाङ, उपाध्यक्ष मखमल श्रेष्ठ, खाँडादेवी गाउँपालिका–३ भीरपानीका वडा अध्यक्ष पुष्कर कार्की, वडा सदस्य भीम श्रेष्ठ सहितको जनप्रतिनिधिहरुको टोलीले नमूना वस्ती निर्माणस्थलको अवलोकन गरेको छ । नमूना वस्तीको डिपिआर भएपछि प्रदेश सरकार खाँडादेवी गाउँपालिकाको पचास÷पचास प्रतिशत लगानीमा निर्माण हुनेछ ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले नमूना वस्ती निर्माणको लागि अहिले प्रदेश सरकारले एक करोड रुपैयाँ छुटयाएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने मुख्य उदेश्यको साथ नमूना वस्ती विकास गर्न लागिएको हो ।’
सरकारले देशको एक सय गन्तव्यको सूचिमा सुनकोसी नदीमा र्याफ्टी सञ्चालन गर्ने घोषणा गरेको छ । खाँडादेवी गाउँपालिकाले नमूना वस्ती निर्माणसँगै होमस्टेको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । माझीहरुको परम्परागत संस्कृतिको संरक्षण गर्ने र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने मुख्य लक्ष्यको साथ डब्खामा नमूना वस्ती निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्