सुनकोसी दोस्रो जलविद्युत आयोजनाबाट सदरमुकाम मन्थली सहित रामेछापका १५ वडा डुबानमा पर्ने (सूचिसहित)



स्नेहा सिलवाल
३ कार्तिक, काठमाडौं । सरकारले उच्च प्राथमिकता दिएर सुनकोसी दोस्रो र सुनकोसी तेस्रो जलाशययुक्त आयोजना अध्ययनको काम धमाधम अगाडि बढाएको छ । डेढ बर्षदेखि परामर्शदाता कम्पनी इआरएमसीले सम्भाव्यता अध्ययनको काम गरिरहेको छ । सम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै सरकारले आयोजनाबाट प्रभावित हुने क्षेत्रमा वातावरणीय प्रभाव मुल्याकन लागि क्षेत्र निर्माण गर्नको लागि सूचना जारी गरेको छ ।
विद्युत विकास विभागले जारी गरेको सूचना अनुसार रामेछाप जिल्लाको सदरमुकाम मन्थली सहित, खाँडादेवी गाउँपालिका, रामेछाप नगरपालिका र लिुख गाउँपालिका गरी १४ वटा वडा डुबानमा पर्ने छन् । विद्युत विकास विभागका प्रवक्ता निशा रिजालले वातावरणीय प्रभाव मुल्याकनका लागि क्षेत्र निर्धारण गर्न सूचना जारी गरिएको हुँदा प्रभावित क्षेत्रका बासिन्दहरुलाई लिखित रुपमा सुझाव दिन आग्रह गर्नुभयो ।
प्रवक्ता रिजालले रामेछाप न्युजसँग भन्नुभयो,‘सुनकोसी नदीमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका–५ र सिन्धुली जिल्लाको कोलन्जोर गाउँपालिका–१ को सीमाना च्याकुटारमा करिब ३९० मिटर लामो र १६१ मिटर उचाईको बाध निर्माण गरी १०५० घनमीटर प्रति सेकेन्ड पानीलाई १.२ किलोमिटर लामो र ११ मि व्यास भएको सुरुङबाट सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका १ च्याकुटार नजिक विद्युतगृह निर्माण गरिने छ ।’ हालसम्मको सम्भाव्यता अध्ययनले सुनकोसी दोस्रो जलाशययुक्त आयोजनाबाट ११ सय १० मेगावाट विद्युत उत्पादन हुनेछ ।
रामेछाप जिल्लमा आयोजनाले प्रभाव पार्ने सबै भन्दा बढी मन्थली नगरपालिका रहेको छ । मन्थली नगरपालिकाको वडा नम्बर १, २, ६, ७, ८ र ११ रहेका छन् । त्यसैगरी खाँडादेवी गाउँपालिकाको वडा नम्बर १,२, ३ र ४ रहेका छन भने रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ हरेको छ । आयोजनाबाट लिखु तामाकोसी गाउँपालिकाको ७ नम्बर वडा डुबानमा पर्ने भएको छ । विद्युत विकास विभागले सूचना प्रकाशित भएको १५ दिनभित्र लिखित रुपमा सुझाव दिन डुबान क्षेत्रमा पर्न सक्ने वासिन्दाहरुसँग आग्रह गरेको छ ।

आयोजना कार्यान्वयन गर्नु अघि वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गरी वन मन्त्रालबाट स्वीकृत गराउनु पर्ने प्रावधान रहेको छ । प्रतिवेदन तयारीको क्रममा क्षेत्र निर्धारण गर्नुपर्ने भएकाले वातावरण प्रभाव मुल्यांकलन गर्दा हुर्नुपर्ने भौतिक, जैविक तथा सामाजिक, आर्थिक र संस्कृतिक क्षेत्रसँग सम्बन्धित सवालहरुमा बारेमा प्रस्ताव कार्यान्वयन हुने क्षेत्रका सरोकारवाला व्यक्ति वा संस्थाको लिखत राय सुझा लिनुपर्ने भएकाले सूचना प्रकाशित गरिएको विभागले बताएको छ ।

आयोजनाबाट प्रभाव पर्नसक्ने नगरपालिका, गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्यचौकी तथा सरोकारवाला व्यक्ति वा संघसस्थाहरुले राय सुझाव पठाउनु पर्नेछ । सुनकोसी दोस्रो र तेस्रो जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी लिएको परामर्शदाता कम्पनी इआरएमसीका सञ्चालक उद्धवराज चौलागाईले विभागले माग गरे अनुसारको प्रभावित क्षेत्रका बासिन्दाहरुले सुझाव उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्