समृद्ध सुनापती गाउँपालिका निर्माणमा लागि परेका छौंः अध्यक्ष लामा



८ कार्तिक, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले समृद्ध सुनापति गाउँपालिका निर्माणको अभियानमा लागि परेको बताउनुभएको छ । उहाँले गाउँपालिकाभित्र विकास निर्माणको कामले गति लिएको बताउदै योजनाबद्ध रुपमा सुरु भएको कामले परिणाम दिन सफल भएको बताउनुभएको हो । आफूहरु निर्वाचित भएपछि उज्यालो गाउँपालिका बनाउने निर्णय कार्यान्वयन भएको स्मरण गर्दै अध्यक्ष लामाले सडक खानेपानी, स्वास्थ्य शिक्षा लगायतका क्षेत्रको सुधारको लागि काम भइरहेको बताउनुभयो ।

सुनापती गाउँपालिका–५ खनियापानी वडा कार्यालयले तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष लामाले गाउँपालिकाका पाँच वटै वडामा विकास निर्माणको काम धमाधम भइरहेको बताउनुभयो । कार्यक्रममा सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो,‘नागरिकहरुको सेवालाई केन्द्रमा राखेर काम गरिरहेका छौ, नागरिकहरुबाट गुनासो नआउने गरी काम गरिरहेका छौं ।’

चियापान कार्यक्रममा सुनापती गाउँपालिका–५ का वडा अध्यक्ष ठूलोकान्छा तामाङ, सुनापती गाउँपालिका १ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई, गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका गाउँपालिका–२ दिमीपोखरीका अध्यक्ष कमल केसी लगायत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो । पहिलो पटक वडा कार्यालयद्धारा आयोजित चियापान कार्यक्रममा पाँच सय जना भन्दा बढी नागरिकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्