ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रमाण मसँग छः पीडित मियाँ



काठमाडौं, ९ कार्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईंलड्दै आएका मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार पत्रकार सम्मेलन गर्दै मियाँले जतिसुकै समय लागेपनि सत्यको जीत हुने बताउँदै दोषीलाई कारबाही गराएरै छाड्ने बताए । उनले भने,‘राज्य नै घटना लुकाउन र दोषीलाई बचाउन लागेको प्रमाण मसँग छ ।’ तत्कालिन सरकार, प्रहरी प्रशासन सबै मिलेर घटना दबाएको उनको भनाई थियो । उनले भने,‘म यही रिपोर्टर्स क्लबको पुतलीसडकस्थित मञ्चमा उभिएर न्यायको भीख माग्न आएको थिएँ तर सुनुवाई भएन ।’ १२ वर्ष अगाडि यही घटनाबारे सबैलाई जानकारी गराउँदा पनि कहीं कतैबाट सुनुवाई नहुँदा दोषीले टाउको उठाएर हिंडेको बताए । उनले भने,‘घटनामा महताब आलम, अफताब आलम, शेख भदै (सेराज), कृष्ण लामा लगायतको प्रत्यक्ष संलग्नता छ ।’
घटनामा नेपाली काँग्रेसका तत्कालिन संविधानसभा सदस्यका उम्मेदवार अफताब आलमको प्रत्यक्ष निर्देशनमा बम बिष्फोटमा घाइते भएकाहरुलाई जिउँदै ईट्टा भट्टामा हालिएको बताए । घटनामा तत्कालिन सशस्त्र प्रहरीका एसपी कृष्ण लामा प्रत्यक्ष संलग्न भएको र रौतहट प्रहरीका प्रमुख एसपी लक्ष्मण न्यौपानेले पनि भूमिका खेलेको आरोप लगाए । उनले भने,‘प्रहरी प्रशासनको संलग्नतामा सबै मिलेर ट्याक्टरबाट घाइते बोकेर जलाइएको थियो ।’
घटनाको वृस्तृत विवरणबारे जानकारी दिदैं मध्यराततिर राजा ईटा भट्टा पुर्याइएको सुनाए । उनले भने ‘बोराबाट सिधै ईटा पोल्ने भट्टाभित्र हालेर मारेको हो । त्यहाँ जिवित रहेका व्यक्तिलाई समेत जिउँदै मारिएको छ ।’ हत्या हुँदा सशस्त्रका तत्कालिन एसपी कृष्ण लामा पनि राजा ईंट्टा भट्टामै रहेको उनको दाबी छ ।
घटनाबारे आफुसंग प्रशस्त प्रमाण रहेको जनाउँदै सो प्रमाणहरु अनुसन्धानमा सघाउन प्रहरीलाई सबै प्रमाण दिइसकेको बताए ।
घटना भएको समयमा सर्लाहीमा भएको जनाउँदै घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेपनि प्रशासनले बिष्फोट भएको ठाँउमा जान नदिएको खुलाए । ‘आफ्नो मान्छे मारिएको भन्दापनि हामीलाई घटनास्थलसम्म पुग्न दिइएन । रातभर गहँुबारीमा लुकेर हेरेर बसें ।’ घटनामा एक एक गरेर ईंट्टाभट्टामा मानिसलाई जिउँदै हालेको देखेको सुनाए । केही घाइते भाग्न सफल भएको उनले बताए ।
घाईतेमध्ये एक जना अहिले पनि जिवितै रहेको बताउदै उनले ती घाइतेबाट प्रमाण जुटाएको बताए । घटनापछि हत्याको सबै दृश्य देखेको सुनाउँदै विहान चार बजेको समयमा गण्डक नहर हुँदै ज्यान जोगाएर भागेको बताए । उनले आफ्नो ज्वाईलाई जिउँदै भट्टामा हालेर मारेको प्रत्यक्ष देख्ने अर्को व्यक्ति पनि जिवितै रहेको बताए ।
‘मेरो ज्वाँई र श्रीनारायणको छोरो पिन्टु सिंह भन्ने व्यक्ति बम बिष्फोट भएको ठाँउ बाहिर रहेको भएको तथा उनीहरु घाइतेमात्रै भएपनि त्यहि उपचार गराउने बाहानामा बेहोस बनाउने सुई लगाएर मारिएको हो ।’ उनले भने ‘ बेहोसी अवस्थामै बोरामा हालेर इटा भट्टामा हालेर मारिएको हो ।’
ज्वाँईको अवस्थाबारे जानकारी लिन खोज्दा उल्टै आफुहरुलाई ज्यान मार्ने सम्मको धम्की आएको उनले बताए । ‘आफ्नो ज्यान सम्बन्धी खतरा बढदै जाँदा न्यायको आशा मारिसकेको बताउदै उनले उक्त घटनाका घाइतेहरुलाई औषधी उपचार गराएको भए बाँच्ने सम्भावना रहेको भन्दै दुखेसो पोखे ।
‘सोहि घटनामा घाइते भएकाहरुले पनि घटना भएको भन्दै साविती बयान दिईसकेको छ ।’ उनले भने ‘उपलब्ध प्रमाणको आधारमा उचित न्यायको माग गरेका छौ । ’
विष्फोटबाट भत्केको घर निमार्ण गरेर पुरानो देखाउन राता–रात गाँउकै मान्छेलाई प्रयोग गरेको समेत उनको भनाई रहेको छ । ‘अहिले उक्त घर निमार्ण गर्ने मिस्त्रीले समेत विष्फोटबाट भत्केको घर निमार्ण रातको समयमा आफुहरुले गरेको भन्दै बयान दिईसकेको छ,’ उनले सुनाए । ‘घर बनाउने मिस्त्रीले नयाँ घरलाई पुरानो देखाउन माकुराको जाँलो तथा गहुँको भुसको प्रयोग गरेको र ईंट्टा भट्टा भित्र लास देखेको बयानमा बताइसकेको छ,’ मियाँले बताए ।
घटनालाई लुकाउन आफू र आफ्नो परिवारलाई पनि लोभ लालच, डर त्रास देखाएको सुनाए । उनले भने,‘मेरो निर्दोष ज्वाईंको हत्या गर्ने अपराधीहरुसँग सम्झौता गर्दिनँ भनेर १२ वर्षयता न्यायका लागि लडिरहेको छु ।’
यसैगरी, २०६४ साल १२ महिना २७ गते रौतहटको राजपुर फरदवा साविकको राजपुर नगरपालिकामा भएको बम विष्फोटको घटनामा आफ्नो ज्वाई ओसी अख्तरलगायतको निर्मम तरिकाले हत्या भएको भन्दै समसुल मियाँले न्याँयको माग गरेका छन् । उनले घटनाको सत्य–तथ्य छानविन भएमा सबै छर्लंग हुने बताए ।
घटनामा १८ जनाले अनाहकमा ज्यान गुमाएको भन्दै पीडितलाई न्याय र अपराधीलाई हदै सम्मको कानुनी कारबाही हुनुपर्नेमा जोड दिए ।
आफु जिउदो रहुन्जेल सम्म न्याँयको लडाईमा लागि रहने जनाउदै उनले घटना भएको केहि दिन भित्रै रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गराएपछि घटनाबारे राष्ट्रिय मानवअधिकार आयोग, इन्सेक, संयुक्त राष्ट्रसंघ लगायतले चासो देखाएका थिए ।
पत्रकार सम्मेलन मार्फत घटनाबारे अन्तराष्ट्रिय चासो बढ्दै जाँदा इन्सेकमा कार्यरत मिस सोनिया, नेपाल बार एशोसियसनका दिपेन्द्र झा लगायतमाथि आरोपी महताभ आलमले हातपात गरेको समेत उनले बताए ।
प्रशासनले चिम्नीको मोटो परिक्षणको लागि लगेको जानकारी पाएपनि कुन चिम्नी, कहाँको चिम्नीबाट माटो लगेको हो आफुहरुलाई थाहा नभएको समेत उनको भनाई छ ।
आफुसंग बम विष्फोटका घाइतेबारे पनि प्रमाण रहदा अहिले सम्म प्रशासनले प्रमाणित नगरेको उनले बताए । हालसम्म आफुहरुले न्याय नपाउनुको पछाडि राजनीतिक चलखेल रहेको जनाउँदै उनले राजनीतिक दबाब कै कारण प्रमाणलाई नष्ट गर्ने प्रयास भएको आरोप लगाए ।
अहिले न्यायको आशा रहेको जनाउँदै सरकारले प्रमाणको आधारमा दोषी माथि कडा भन्दा कडा सजाय हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्